महेन्द्रनगर । बैतडीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। पाटन नगरपालिका–५ का ओदालीका ३२ वर्षीय राम बहादुर चन्द मंगलबार मृत भेटिएका छन् ।
चन्द पाटन–मेलौली सडकखण्डको पाटन नगरपालिका–५ कद्वारस्थित भीरबाट दुई सय मिटर तल मृत भेटिएका हुन् । सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
चन्दको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । यस्तै भीरबाट लडेर पाटन नगरपालिका वडा नम्बर ४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको मृत्यु भएको छ ।