
महेन्द्रनगर । बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप मंगलबार छबिसपाथिभेरा–७ खोरीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।
गाडीमा चालक विनोद धामी सहित ९ जना सवार उक्त जिप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुने सबै एकै गाउँ छबिसपाथिभेरा गाउँपालिका–७ बुड्खोरीका इनार महत, रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी रहेका छन् ।
२५ वर्षीय इनार महतको टाउको कम्मरमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ। त्यसैगरी वर्ष २२ का प्रकाशको हात कम्मरमा चोट लागेको छ भने अवस्था चिन्ताजनक रहेको छ । ३१ वर्षीय रामबहादुर धामीको खुट्टामा चोट लागेको छ । १४ वर्षीय अशोक धामीको मुख र कम्मरमा चोट लागेको छ ।
१६ वर्षीय सन्तोष धामीको खुट्टामा चोट लागेको छ भने १६ वर्षीय निरन धामीको खुट्टामा चोट लागेको घटनास्थलबाट स्थानीय सुनिल मण्डेलले जानकारी दिएका छन् । घाइतेहरूलाई उपचारका लागि गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल ल्याइएको छ । गाडी चालक र अन्य दुईजना भने कुशल छन् ।
