Sarsoti

बेदकोटमा नगर अस्पताल निर्माणका लागि फेरि दबाव दिइने, आन्दोलनमा जाने संघर्ष समितिको तयारी

lotus institute

महेन्द्रनगर । बेदकोट नगरपालिका ३ दैजीस्थित १५ शै्ययाको नगर अस्पताल निर्माण कार्य अलपत्र भएपछि स्थानीयको संघर्ष समितिले फेरि दबावका लागि छलफल सुरु गरेको छ ।

स्थानीयले संघर्ष समिति गठन गरी दबाव दिएपछि गत आर्थिक वर्षमा नगर अस्पतालका लागि पर्खाल निर्माण कार्य सुरु गरिएको थियो । भदौमा फेरि निर्माण सुरु गर्ने भन्दै राजेन्द्र निर्माण सेवा कम्पनी अधुरो पर्खाल अधुरो छाडेर काम रोकेको थियो ।

morning glory

भदौमा सुरु हुने भनिएको कार्तिकसम्म सुरु नभएपछि संघर्ष समिति फेरि दबाव दिन लागेको हो । त्यसका लागि संघर्ष समितिले शुक्रबार बेदकोट नगरपालिकाका जनप्रतिनिधि र नगर स्तरीय राजनीतिक दलका प्रतिनिधिसित सर्वपक्षीय छलफल गरिएको छ ।

बेदकोट नगरपालिकाको सभा कक्षमा गरिएको छलफलमा अपेक्षित रुपमा सहभागिता हुन नसकेपछि शनिबार अस्पताल निर्माण स्थलमा स्थानीयसित छलफल राखिएको संघर्ष समितिका संयोजक खगेन्द्र नाथले बताए । स्थानीयसित छलफलपछि संघर्ष समितिले अस्पताल निर्माणका लागि दबाव दिन संघर्षका कार्यक्रम घोषणा गर्ने संयोजक नाथको भनाई छ ।

‘एक चरणको दबावले बाउन्ड्री वाल बनायो, त्यसपछि भदौमा काम सुरु गर्छौ भनेर गएका थिए, अहिलेसम्म सुरु भएको छैन’ संघर्ष समितिका संयोजक नाथले भने,‘त्यसका लागि आज नगरपालिकामा छलफल राखेका हौ, अपेक्षा अनुसार सहभागिता नभएकाले भोलि त्यहाँ स्पटमा स्थानीयसित छलफल गरी आन्दोलनमा जान्छौ ।’

स्थानीयसित छलफल गरी नगर अस्पताल निर्माण कार्य थालनीका लागि शान्तिपूर्ण आन्दोलनका कार्यक्रम घोषणा गरिने संयोजक नाथले बताए ।

बेदकोट नगरपालिका र राजेन्द्र निर्माण सेवाबीच २०७८ बैशाख २२ गते दुई वर्षमा निर्माण कार्य पूरा गर्ने गरी ९ करोडमा ७४ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले सम्झौता अवधिको दुई वर्षमा अस्पतालको अधुरो पर्खाल निर्माण गरेको छ ।

२०८० बैशाख २५ गते ठेक्का सम्झौता म्याद सकिएपछि नगरपालिकामा म्याद थपका लागि निवेदन दिइएको छ । अहिलेसम्म नगरपालिकाले म्याद थप गरिएको छैन ।

नगरपालिकासित सम्झौता अनुसार अस्पताल निर्माण सुरु नभएपछि गत बैशाखमा स्थानीय नाथको संयोजकत्वमा संघर्ष समिति गठन गरी दबाव दिइएको थियो । त्यसपछि अस्तपताल निर्माणका लागि पर्खाल बनाउन सुरु गरिएको थियो ।

संघर्ष समितिका संयोजक नाथले ठेकेदार कम्पनीले सम्झौता अवधिसम्म अस्पताल निर्माणको काम समेत सुरु नगरेपछि दबावका लागि संघर्ष समिति गठन गरिएको बताए ।

‘दुई वर्षसम्म अस्पताल बन्छ भन्ने थियो, त्यसैको आशमा बसेका थियौ’ उनले भने,‘ठेक्काको म्याद सकिँदासम्म काम सुरु नै नभएपछि संघर्ष समिति गठन गरी अघि बढेका हौ ।’

Mahendranagar

संघर्ष समितिका संयोजक नाथले नगर अस्पताल बेदकोटका वासिन्दाका लागि आवश्यक भएकाले छिटो सञ्चालनमा ल्याउनु पर्ने गरी दबाव दिइने बताए ।

‘संविधानमा स्वास्थ्यलाई मौलिक हकको व्यवस्था छ, यो अस्पताल बनेर जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउनु पर्छ’ उनले भने,‘अस्पताल निर्माणमा गरिएको लापरवाहीले जनताको स्वास्थ्य अधिकारमाथि खेलवाड गरिएको छ, यस विरुद्ध हामी निरन्तर खबरदारी गर्छौ ।’

नगरपालिकाका प्राविधिकहरुका अनुसार हालसम्म अस्पतालको निर्माण कार्य दुई प्रतिशत भएको छ । ‘पर्खाल बाहेक अरु केही बनाइएको छैन, त्यो पनि आधा नै छ’ कार्यालयका एक प्राविधिकले भने,‘६ फिटको पर्खाल बनाउन पर्नेमा ३ फिट मात्रै छ, त्यो पनि दुई तिर मात्रै छ, अरु दुई तिर छैन ।’

बेदकोट नगरपालिका ३ दैजीस्थित शारदा माध्यमिक विद्यालयको भोगलचनमा रहेको १२ कट्टा जमिनमा नगर अस्पताल बनाउन थालिएको हो । ठेकेदार कम्पनीले ठेक्का सम्झौतापछि ८५ लाख मोबिलाइजेशन रकम लगेको थियो ।

बेदकोट नगरपालिका कार्यालयको सभा कक्षमा गरिएको छलफलमा सम्बन्धित वडाका वडा अध्यक्ष सहित दुई जना बाहेक अन्य जनप्रतिनिधि सबै अनुपस्थित भएका छन् । बेदकोटका मेयर भोजराज बोहरा र उप मेयर तुलसी जोशी सहित सबै वडा अध्यक्षलाई कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गरिएको थियो ।

बेदकोट नगरपालिका ३ का वडा अध्यक्ष मोहन गुरुधामी र १० का वडा अध्यक्ष जनक विष्ट छलफलमा सहभागी भएका छन् । उनीहरुमध्ये धामी नगर अस्पताल निर्माण हुने वडाका वासिन्दा हुन् ।

काँग्रेस बाहेक अन्य राजनीतिक दलका प्रतिनिधि छलफलमा सहभागी भए । नेकपा माओवादी केन्द्रका मिनराज गिरी, एमालेका हरि गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका तेज ठकुल्लाले छलफलमा सहभागी भएर नगर अस्पताल निर्माणका लागि गरिने सबै कार्यक्रममा सहभागी हुने प्रतिवद्धता जनाए ।

काँग्रेसका बेदकोट नगर सभापति तुला शाहु लगायतका नेता नगरपालिका कार्यालय भए पनि छलफलमा सहभागी नभएर फर्किएका छन् ।

बेदकोट नगरपालिका ३ का वडा अध्यक्ष धामीले बेदकोट नगरपालिकाले अस्पताल निर्माण कार्यलाई प्राथमिकता दिएर अघि बढेको बताए ।

‘यो नगर अस्पताल निर्माण कार्यलाई सुरुदेखि प्राथमिकता दिएका छौ, चुनाव जितेर आएपछि साइड क्लियर गराएर निर्माण सूरु भयो’ उनले भने,‘ पटक पटक गरी ५ पटकसम्म त काम सुरु गर्नका लागि ठेकेदारलाई पत्र पठायौ, दुई पटक मेयर साप म नै कम्पनीको अफिस गरेर समेत कुरा गरेका छौ ।’

वडा अध्यक्ष धामीले ठेकेदार कम्पनीले सम्झौता अनुसार अस्पताल निर्माण गर्नु पर्ने सबै नगर वासिन्दाको माग भएको बताए । ‘अस्पताल चाहिन्छ, त्यो छिटो हुनु पर्ने हामी सबै वासिन्दाको माग हो’ उनले भने ।

बेदकोट नगरपालिकाले ठेकेदार कम्पनीलाई म्याद थपका लागि सक्कली कागजात पठाउन पत्रचार गरेको छ । कार्यालयमा म्याद थपका लागि निवेदन आएपछि कागजात माग गरिएको नगरपालिकाका कर्मचारीले बताए ।

saark school
सम्बन्धित
Loading...