महेन्द्रनगर । पश्चिमी सीमा नाका गड्डाचौकीमा ग्राभेल हाल्ने कार्यमा अवरोध पुगाएको चार महिनापछि भारतले नेपालसित समन्वय नगरी सीमा क्षेत्रमा सडक कालोपत्रे गरेको छ ।
भारतले गड्डाचौकीस्थित सीमा स्तम्भ नं. ८०५ ÷१ (७) को क्षेत्रमा पर्ने दशगजा क्षेत्रमा सडक कालोपत्रे गरिएको छ । यस अघि गत असारमा नेपाली भूमिमा ग्राभेल गर्दा भारतीय एसएसबीले अवरोध गरेको थियो ।
भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले भारतले एकलौटी रुपमा दशगजा क्षेत्रमा सडक कालोपत्रे गरेको बताए । ‘गत असारमा पिलरदेखि उत्तरतर्फ नेपाल जाने सडकमा ग्राभेल हाल्दा भारतीय पक्षबाट अवरोध गरियो, आज आएर भारतीय पक्षले एकलौटी रुपमा सडक फराकिला बनाएर कालोपत्रे गरिरहेको छ’ उनले भने, ‘दशगजामा बलमिच्याई गरी यसरी संरचना बनाउन पाइदैन ।’
सीमा क्षेत्रमा संरचना बनाउन दुबै देशको सहमति चाहिने भएकाले भारतयले यस अघि नेपाललाई अवरोध गर्दै आएको थियो । गड्डाचौकीमा नेपालसित समन्वय नगरी भारतले एकलौटी रुपमा सीमा क्षेत्रसम्म सडक कालोपत्रे गरेको हो ।
भारतले एकलौटी रुपमा दशगजासम्म सडक बनाउँदा स्थानीय प्रशासन मौन बसेकोमा स्थानीय आक्रोशित भएका छन् । ‘स्थानीय प्रशासनलाई मतलब नै छैन् ’ वडा अध्यक्ष थापाले भने,‘यो एकदमै निन्दनीय छ, प्रशासनले तत्काल गर्नु पर्छ ।’
स्थानीयका अनुसार भारतले एक सातादेखि सडक कालोपत्रेको काम गर्दैै आएको छ । सशस्त्र प्रहहरीले भारतीय पक्षले सडक मर्मत गर्न लागेको जानकारी आएको बताएको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरका नेता दिपेन्द्र सिह ऐरीले भारतीय पक्षले नेपाली भूमिमाथि गर्दै आएको हस्तक्षेपको निरन्तरता भएको बताए ।
‘यस्तो संवेदनशिल क्षेत्रमा भारतीय पक्षबाट खुलेयाम सडक कालोपत्रे हुने र अनि नेपाली पक्षबाट मतलब नगरिनु दुःखद हो’ उनले भने ।
भीमदत्त नगरपालिका ११ का स्थानीय तेज रावलले समेत सीमा पिलरदेखि नै कालोपत्रे गर्ने कार्य भारतीय पक्षले बलमिच्याई गरिरहेको भन्दै आक्रोश पोखे ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले पहिलाको सडक मर्मत गरेको वा नयाँ बनाएको बारेमा थप बुझ्ने बताए ।
‘हामीलाई भारतीय पक्षले पुरानै सडक मर्मत गरेको बारे सशस्त्र प्रहरी मार्फत जानकारी आएको छ, ‘प्रजिअ अधिकारीले भने, ‘नयाँ मर्मत वा निर्माण गरेको बारे थप बुझ्छौँ ।’