

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले भीमदत्त नगरपालिका १३ पिपरैयामा उपद्रो मच्चाएको छ । पिपरियास्थित हात्तीसार पोष्ट नजिक तारजाली काटेर सोमबा राति २ः०० बजे हात्ती वस्तीमा पसेको थियो ।
हात्तीले दुई परिवारको खेतीपाती र संरचनामा क्षति पुगाएको छ । नेकपा एमालेको भीनपा १३ का वडा कमिटी अध्यक्ष महेश भट्टका अनुसार स्थानीय राम बहादुर चन्द र महानन्द भट्ट हात्तीले नोक्सान पुगाएको छ ।


उनका अनुसार हात्तीले चन्दको भान्सा भत्काई दिएको छ । हात्तीले चन्दको घरको बरण्डामा राखिएको चार बोरी धान नोक्सान गरेको उनले बताए । यसैगरी अर्का भट्टको केराबारी र तरकारी खेतीमा नोक्सान गरेको छ ।
हात्ती आएको थाहा पाएपछि घर छाडेर दुई परिवारले ज्यान जोगाएका छन् । स्थानीयले होहल्ला गरी हात्ती भगाएका थिए ।

‘राति २ बजे हात्ती आएको थाह पाएर ज्यान जोगिएको हो, गाउँका सबैले होहल्ला गरी हात्ती भगाए’ उनले भने,‘राति त्यसरी हात्ती आएपछि गाउँमा त्रास छ, रातभरि हात्ती धपाउनु पर्ने अवस्था छ ।’

निकुञ्जका हात्तीलाई वस्तीमा रोक्नका लागि गत वर्ष वडा कार्यालयले निकुञ्ज किनारमा तारजाली लगाएको थियो । हात्तीसार नजिक तारजाली कुल्चेर वस्तीमा पसेकाले अन्य हात्ती पनि आउन त्रास छाएको भट्टले बताए ।
स्थानीयले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई हात्तीले पुगाएको क्षतिबारे मंगलबार विहान जानकारी गराएका छन् ।



