भीम दत्त पन्तको शालिक तोडफोड रोक्न नसकेको भन्दै सुरक्षामा खटिएका प्रहरीमाथि कारवाही हुने

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीम वाटिकामा भीमदत्त पन्तको शालिक तोडफोड भएपछि सुरक्षामा खटिएका प्रहरीमाथि कारवाही गर्ने भएको छ । प्रहरी उपरीक्षक कमल थापाले शालिक तोडफोडमा सुरक्षा कमजोरी भएको स्वीकार गरी प्रहरीलाई स्पष्टीकरण सोधेर कारवाही गर्ने बताएका हुन् ।

शालिक तोडफोडपछि प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहित भीनपा १८ का वडा अध्यक्ष रविन्द्र देबकोटा, भीमदत्त पन्त स्मृति प्रतिष्ठान र भीम वाटिका संरक्षण समितिका प्रतिनिधि सहितको छलफलमा प्रहरी उपरीक्षक थापाले सुरक्षा कमजोरी भएको स्वीकार गरेका हुन् ।

‘सुरक्षा कमजोरी भएको छ, सार्वजनिक सम्पत्ति भएकाले पार्कभित्र पस्न नदिने र जबरजस्ती गरे त्यसलाई जसरी रोक्ने निर्देशन दिएर प्रहरी परिचालन गरिएको थियो, त्यस अनसार हुन सकेन’ छलफलमा प्रहरी उपरीक्षक थापाले भने,‘यसमा केही कमजोरी भो, सुरक्षामा खटिएका प्रहरीलाई स्पष्टीकरण सोधेर कारवाही गर्छौ ।’

राप्रपाले राजसंस्था पुनःस्थापना अभियानका लागि गरेको प्रदर्शनका क्रममा सहभागीहरुले पार्कभित्र प्रवेश गरी पन्तको शालिक तोडफो गरेका छन् । उनीहरुले पार्क प्रवेशद्वारमा भीम वाटिका लेखिएको नाम मेटाई दिएका छन् ।

राप्रपा प्रदर्शनमा सुरक्षाका लागि वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली परिचालन गरिएका थिए । छलफmलमा सहभागीले शालिक तोडफोड हुँदा प्रहरी मौन बसुेको गुनासो गरेका थिए ।

छलफलमा सहभागी भीम वाटिका संरक्षण समितिका अध्यक्ष भट्टले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक दुबैले शालिक तोडफोडमा संलग्न सबैलाई पक्राउ गरी कारवाही गरिने प्रतिवद्धता जनाएको बताए ।

‘यो सार्वजनिक सम्पत्ति हो, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जो सुकैलाई पनि कानुन अनुसार कारवाही हुन्छ, अहिलेसम्म तीन जना पक्राउ गरि सकेका छौ, अन्यलाई पनि पक्राउ गर्छाै’ छलफलमा प्रहरी उपरीक्षक थापाले गरेको प्रतिवद्धता उद्धृत गर्दै भीम वाटिका संरक्षण समितिका अध्यक्ष भट्टले भने ।

भीमदत्त स्मृति प्रतिष्ठाले पन्तको शालिक स्थापना गरेको थियो । राजसंस्था पुनःस्थापना अभिययानका लागि राप्रपाले गरेको प्रदर्शनका क्रममा पन्तको शालिक तोडफोड गरिएको हो । प्रहरीले शालिक तोडफोड भएपछि दुई राउण्ड हवाई फायर प्रहार गरी भीडलाई तितरवितर गरेको थियो ।

सम्बन्धित
Loading...