महेन्द्रनगर । स्वदेशी उत्पादन, उद्यमीको सम्मान भन्ने नाराका साथ कञ्चनपुरमा नवौ उद्योग दिवस मनाइएको छ । घरेलु तथा साना उद्योग कार्यालयले उद्योग दिवसको अवसर पारी कार्यालयमा कार्यक्रम गरेको छ ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा उद्यमी व्यवसायी, नागरिक समाज, सरकारी कर्मचारी लगायतका सहभागी भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समन्वय प्रमुख बोहराले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरी अघि बढ्नु पर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उद्यमी व्यवसायीले समय अनुसार व्यवसाय गर्नु पर्नेमा जोड दिए । अहिलेको समय बहुराष्ट्रिय कम्पनीको उत्पादन रोक्न नसकिने भएकाले उद्यमी व्यवसायीसित प्रतिस्पर्धाका लागि तयार हुन बाहेकको अन्य विकल्प नभएको उनको भनाई थियो ।
कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले देशलाई आर्थिक रुपमा कमजोर बनाउने बाटोमा राज्य संयन्त्र लागेको आरोप लगाए । राज्यले दुई चार उद्योग व्यवसायीको हितलाई हेरेर नीति नियम बनाउँदा उद्यमी व्यवसायी धराशायी हुने अवस्था आएको उनको भनाई थियो ।
‘अहिले राज्य संयन्त्र नै देशलाई कसरी आर्थिक रुपमा कमजोर बनाउन सकिन्छ भनेर लागेको छ, उद्योग व्यवसाय सबै धराशायी भएको छ’ उनले भने,‘२÷४ जनाको हित हेरेर जनतालाई आर्थिक मारमा पार्ने काम भई रहेको छ, बन्द उद्योगका नाममा आइपिओ जारी गर्नु नै जनतालाई ठग्ने कार्य भएको छ, यसमा राज्य संयन्त्र चुपचाम छन् ।’
सुदूरपश्चिम प्रदेशका राज्यको असहज आयात निर्यात नीति र दोहोरो भन्सार नीतिले बिस्कुट, साबुन, मदिरा लगायतका अधिकाँश उद्योग धन्दा बन्द भएको अध्यक्ष जोशीले बताए ।
उद्यमी व्यवसायीका उत्पादन खरिद गर्ने सरकारी कार्यालयले पनि जन अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उनले असन्तुष्टि पोखे ।
‘हामी उद्यमी व्यवसायीका उत्पादन खरिख गर्ने, बजारीकरण गर्ने साल्ट ट्रेडिङ्ग र खाद्य संस्थान लगायतका कार्यालयको भूमिका कस्तो छ, सबैलाई थाह नै छ’ उनले भने ।
राजनीतिक दलहरुले उद्यमी व्यवसायीका समस्यालाई वास्ता नगरेको अध्यक्ष जोशीले गुनासो पोखे । ‘राजनीतिक दलहरुलाई पनि हाम्र्रा समस्याको मलतब छैन, दोधारा चाँदनीमा चार लेन पुल बनाउने भन्छन्, कोही पार्क बनाउने भन्छन्, तर हामी उद्यमी व्यवसायीका पीडा, मार्का कोही दलहरु पनि बोल्दैनन्’ उनले भने,‘अहिलेसम्म कुनै राजनीतिक दलले व्यवसायीहरुका समस्या के छन् भनेर छलफल गरेको छैन ।’
नेपाल घरेलु उद्योग महासंघका केन्द्रीय सदस्य बिमला भट्टले उद्योग दिवसले सबै उद्यमी व्यवसायीका समस्या एकजुट भएर समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा कञ्चनपुर उद्योग बाणिज्य संघका कार्य समिति सदस्य प्रेम पाठकले स्वदेशी उत्पादनलाई प्रवद्र्धन हुने गरी सरकारी नीति तथा कार्यक्रम आउनु पर्नेमा जोड दिए ।
भीमदत्त नगरपालिका ६ का किसान सरेन्द्र बहादुर चन्दले गड्यौलाले बनाएको भर्मिङ्ग मल किन्न कर्णाली प्रदेशबाट आए पनि स्थानीय किसानलाई मतलब नभएको बताए ।
कार्यक्रममा कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन प्रसाद भट्ट, कञ्चनपुर उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष सुरेश गुरुङ्ग, संघका सदस्य तेज बहादुर चन्द, प्रमुख कार्यकारी अधिकृत हेमराज भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी लगायत उद्यमी व्यवसायी सहभागी भए ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख हेमन्त बहादुर सिंहले कार्यालयले उद्यमी व्यवसायीलाई असहज नहुने गरी कार्यालयबाट सेवा प्रवाह हुँदै आएको बताए ।
‘सबै कागजात छन्, कार्यालयबाट दुई घण्टामा सेवा दिन्छौ, हामी सेवाग्राहीलाई अर्को दिन कार्यालयमा आउने गरी दुुःख दिन चाहदैनौ’ उनले भने ।
कार्यक्रममा कार्यालयका अधिकृत राजेन्द्र भट्टले कार्यालयको गतिविधि सहित प्रतिवेदन प्रस्तुत गरे । कार्यालयका कर्मचारी कृष्णदेब भट्टले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा उद्यमी व्यवसायीका विभिन्न उत्पादनहरु नमूनाका रुपमा प्रदर्शनीमा राखिएका थिए ।