
स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका अभियन्ता डा. भट्ट भन्छन्– विश्वविद्यालय विरोधी अझै सक्रिय छन्, सचेत गराउन आवश्यक छ
महेन्द्रनगर । कैलालीको गेटास्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका अभियन्ता कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का निवर्तमान साँसद डा.दिपक प्रसाद भट्टले विश्वविद्यालय विरोध शक्ति अझै सक्रिय भएकाले सचेत गराउनु आवश्यक भएको बताएका छन् ।
गेटास्थित विश्वविद्यालयको भवनमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति सहितको छलफलपछि निवर्तमान साँसद भट्टले विश्वविद्यालय स्थापनाका लागि सचेत गराउनु पर्ने आवश्यकता औल्याएका हुन् ।
समितिको सभापति सहित सदस्य र सरोकारवालासित विश्वविद्यालय स्थापना र सञ्चालनका लागि छलफल गरिएको छ । समितिका सभापति सहित ६ सदस्यीय टोली गेटा आएको हो । छलफलमा निवर्तमान साँसद भट्टले सरकारले आफ्नो घोषणा अनुसार विश्वविद्यालय बनाउनु पर्ने बताए ।
‘अहिले विधेयक राष्ट्रिय सभाको विधायन समितिमा छलफलमा छ । तर, सचेत गराउने निरन्तर आवश्यक छ । किनकी विश्वविद्यालय विरोधी अझै सक्रिय छन, हाम्रो आन्दोलन जारी छ’ उनले भने ।
निवर्तमान साँसद भट्टले केही महिना अघि विश्वविद्यालय स्थापनाका लागि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दोस्रो पटक निवेदन दर्ता गराएका थिए ।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापना समावेश गरे पनि बजेटमा दुई शैयाको प्रतिष्ठान बनाउन बजेट विनियोजन गरेको थियो ।
सरकारले बजेटमा प्रतिष्ठान बनाउन बजेट विनियोजन गरेपछि विश्वविद्यालय स्थापना संघर्ष समितिले सरकार विरुद्ध आन्दोलन चर्काएको थियो ।
