महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित गौशालाबाट धपाइएकी कर्मचारी लक्ष्मी सार्कीलाई फेरि बस्न दिइएको छ । गौशालाभित्रको कोठामा बस्दै आएकी सार्कीलाई राति कोठाबाट धपाइएको थियो ।
दलित समुदायको अगुवाले सोमबार जिल्ला प्रहरी कार्यालय पुगेर सार्कीलाई जातीय विभेद गरी अन्याय पूर्वक हटाइएको जानकारी गराएपछि उनलाई फेरि कोठामा बस्न दिइएको छ । दलित समुदायका अगुवासित छलफलपछि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली ब्रह्मदेब गएको थियो ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य हिरा सिह सार्कीको नेतृत्वमा सोमबार अगुवाको टोली प्रहरी कार्यालय गएको थियो । सार्कीलाई जातीय रुपमा विभेद गरी गौशालाबाट हटाईएको उनीहरुले प्रहरीलाई जानकारी दिएका छन् ।
उनीहरुले प्रहरीलाई दिएको जानकारी अनुसार जगद्गुरु आउँदा समस्या पर्न थालेको भन्दै उनलाई केही महिनादेखि गौशाला छाड्न दबाव दिइएको थियो । घरबास नभएकी सार्कीले छाडन नसकेपछि गौशालाले उनलाई राति कोठाबाट धपाएका थिए ।
भारतीय नागरिकसित विवाह गरेकी डडेल्धुराका सार्कीका दुधे बालक छन् । घरबार नभएपछि उनी अलपत्र परेकी थिइन् ।
राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले सार्कीलाई जातीय विभेद गरी कामबाट निकालेर कोठाबाट धपाएपछि प्रहरी कार्यालय पुगेर घट्नाबारे जानकारी दिइएको बताए ।
‘गौशालामा गाई वस्तुको संरक्षण कामका लागि राखिएकी उनलाई चार पाँच महिनादेखि हटाउन खोजिएको रहेछ, उनलाई पानीको धारा छुनु दिइएको रहेनछ, कोठा छाड्न भनिएको रहेछ’ उनले भने,‘अन्त केही नभएपछि छाड्न सकिनन्, त्यसपछि राति उनका लत्ता कपडा, भाँडाकुँडा बाहिर फालेर धपाईएको रहेछ ।’
भीमदत्त नगरपालिकाले छाडा पशु चौपायाको आधुनिक व्यवस्थापनका लागि ब्रह्मदेबस्थित सिद्धनाथ सामुदायिक वन क्षेत्रमा गौशाला बनाएको हो । गौशालामा अहिले ४० भन्दा बढी गाई वस्तु पालिएका छन् । तीमध्ये अधिकाँश गाई दुध दिने गरेका छन् ।
सार्कीले छोएको गाई दुध स्थानीयले खानु अस्वीकार गरेको भन्दै उनलाई केही महिना अघि छाड्न निर्देशन दिएको पनि बाहिर आएको छ । गौशालाले गाईको दुधलाई बिक्री गर्दै आएको छ ।
अधिकारकर्मी राजुराम सार्कीले जातीय विभेद र छुवाछुतजन्य व्यवहार गरी सार्कीलाई धपाउन गम्भीर अपराध भएको बताए । ‘प्रहरी कार्यालयमा छिटो एक्सन लिन आग्रह गरेका छौ, यसमा छलफल गरी अघि बढ्छौ’ उनले भने ।
जिल्ला प्रहरी कार्यालयमा सोमबार साँझ प्रदेश सभा सदस्य सार्की सहित संविधान सभा सदस्य पुरन सिह दयाल लगायतका अधिकारकर्मीको टोलीले प्रहरी कार्यालय पुगेर घट्नाबारे जानकारी गराएको हो ।
गौशालाले बजेट नभएको कारण देखाउँदै सार्कीलाई कामबाट हटाएको दाबी गरेको छ । सोमबार ब्रह्मदेब पुगेको अधिकारकर्मीको टोलीसित उनीहरुले सार्कीलाई अहिले बजेट नभएको र पछि अगरबत्ती उद्योग खोलेर काममा लगाउन भन्दै हटाएको जानकारी गराएका थिए ।