महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ३ बडवाल टोलमा सहयोग संकलन गरी हात्ती पीडित वासिन्दाको घर निर्माण सुरु भएको छ ।
दोधारा चाँदनीका स्थानीय भीम बहादुर कुमालको अगुवाईमा बडवाल टोलका हात्ती पीडित वासिन्दाको घर बनाउन सहयोग अभियान सञ्चालन गरिएको छ । त्यहीं अभियान अन्र्तगत संकलित सहयोग रकमबाट घर निर्माण सुरु गरिएको छ ।
हात्ती पीडित वासिन्दामध्ये सबैभन्दा कमजोर अवस्थाकी चम्मादेवी सार्कीको घर बनाउन थालिएको छ । हात्तीले घर भत्काएपछि सार्कीको परिवार आफन्तको घरमा सहारा लिएर बसि रहेका छन् ।
‘सबैभन्दा आर्थिक अवस्था कमजोर, सबैभन्दा बढी क्षति भएको, श्रीमान पनि बिरामी, सबैभन्दा पीडित भएकाले वहाँको घरबाट निर्माण कार्य सुरु गरिएको छ’ घर निर्माणका आर्थिक सहयोग संकलन अभियानका अभियन्ता कुमालले भने,‘यसपछि क्रमशः अन्य घर निर्माण गर्दै जानेछौ ।’
सार्कीको घर बनाउन २ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । उनका श्रीमान केशव सार्की विरामी छन् । कुमाल सहितले गत कार्तिकदेखि हात्ती पीडित वासिन्दाका लागि सहयोग संकलन गर्न थालेका छन् ।
अहिलेसम्म ५० हजार सहयोग संकलन भई सकेको छ । हात्तीले सार्की सहित सात जनाको घर भत्काइएको छ ।
संघ, प्रदेश र स्थानीय सरकारले हात्ती पीडितलाई वेवास्ता गरेपछि कुमाल लगायतले घर बनाउन सहयोग संकलन अभियान चलाएका छन् । उनीहरुले फेसबुकबाट सहयोग संकलन अभियान चलाएका छन् ।
कुमाल दोधारा चाँदनीमा स्वतन्त्र समूह गठन गरी सामाजिक कार्य गर्दै आएका छन् । २०७९ को निर्वाचनमा उनी स्वतन्त्र समूहबाट दोधारा चाँदनीको मेयरमा चुनाव लडेका थिए । त्यसपछि उनी प्रदेश सभा सदस्य निर्वाचनमा प्रदेश निर्वाचन क्षेत्र नं. ३ ख बाट चुनाव लडेका थिए ।
कुमालको स्वतन्त्र समूह दोधारा चाँदनीका सबै १० वडामा गठन गरिएको छ । स्थानीय तह निर्वाचनमा मेयर उप मेयर सहित सबै वडामा उम्मेदवादर दिइएको थियो ।
कुमाललाई बडवाल टोलमा हात्तीका घर बनाउन थालिएको आर्थिक सहयोग संकलन अभियानमा पत्रकार पप्पु गुरुङ्ग, गोविन्द राज सहित स्थानीयले साथ दिएका छन् । उनीहरुलाई देश बाहिर भएका दोधारा चाँदनीका वासिन्दाले आर्थिक सहयोग गरेका छन् ।
बडवाल टोलमा तीन सय भन्दा बढी परिवारको बसोबास छ । भारतीय जङ्गलबाट डेढ दशकदेखि वस्तीमा हात्तीको बथान आएर धानबाली नोक्सान र घर भत्काउँदै आएको छ ।
जोगबुडा नदी पारीको यो वस्तीमा जङ्गल किनारमा हात्तीको बथानले सबैभन्दा बढी क्षति पुगाउँदै आएको दोधारा चाँदनी नगरपालिका ३ का वडा अध्यक्ष हरि सिह धनाडीले बताए ।
केही दिन अघि दोधारा चाँदनी नगरपालिका कार्यपालिका सदस्य लक्ष्मीदेवी रानाको घरमा हात्तीले नोक्सान पुगाएको थियो । हात्तीले घर घेराउ गरेपछि राना परिवारले राति भागेर ज्यान जोगाएका थिए ।
बर्सेनी आउने हात्तीका कारण स्थानीयले हिउँदे र बर्खे दुबै बाली भित्र्याउन पाएका छैनन् । अधिकाँश परिवारसित जग्गाधनी पूर्जा नभएकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट क्षतिपूर्ति समेत पाउन सकेको छैनन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षतिपूर्ति प्रक्रिया झन्झटिलो भएकाले जग्गाधनी पूर्जा भएका स्थानीयले निवेदन समेत नदिन नचाहने वडा अध्यक्ष धनाडीले बताए ।
दोधारा चाँदनी नगरपालिकाले राहत स्वतरु हालसम्म स्थानीयलाई दुई लाख सहयोग दिएको छ । गैर सरकारी संस्थासित पीडित वासिन्दालाई खाद्यान्नका लागि कुराकानी गरिएको वडा अध्यक्ष धनाडी बताउँछन् ।