
दोधारा चाँदनीमा नगरपालिकालाई खबरदारी गर्ने पत्रकार गुरुङ्ग सहितलाई कार्यालयमा बोलाउन कार्यपालिका बैठकमा छलफल


महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाले नगरपालिकाका गलत कार्य विरुद्ध खबरदारी गर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई कार्यालयमा बोलाउन कार्यपालिका बैठकमा छलफल भएको छ । सोमबार बसेको कार्यपालिका बैठकमा मेयर किशोर कुमार लिम्बुले विविध विषय अन्र्तगत ती व्यक्तिहरुले नगरपालिका विरुद्ध गलत प्रचार गरी भ्रम फैलाएकोले उनीहरुलाई नगरपालिका बोलाएर छलफल गर्न एजेण्डा राखेका थिए ।
मेयरले राखेको प्रस्तावमा केही कार्यपालिका सदस्यले असमति जनाएका थिए । मेयर लिम्बुले तथ्यहिन र भ्रामक प्रचार गरी नगरपालिकाको बदनाम गरिएको भन्दै छलफल गर्न पर्ने तर्क राखेका थिए ।


कार्यपालिका बैठकको कार्यसूचीमा भने अन्य विषय थिए । मेयर लिम्बुले बैठकका भीम कुमाल र पत्रकार पप्पु गुरुङ्ग लगायतको नाम लिएर छलफल गर्न पर्ने आवश्यकता भएको बताएका थिए ।
कार्यपालिका बैठकमा सहभागी एक सदस्यका अनुसार कुमाल, पत्रकार गुरुङ्ग सहित गोबिन्द राजप्रति मेयर लिम्बु आक्रोशित देखिएका थिए । २०७९ मा मेयर लिम्बुले चुनाव जितेपछि उनीहरु तिनै जना आर्थिक अनियमिता विरुद्ध र विकास निर्माणका लागि निरन्तर खबरदारी गर्दै आएका छन् ।
कुमाल मेयर लिम्बुसंग २०७९ को स्थानीय तह निर्वाचनमा मेयरको निर्वाचन लडेका थिए । उनी दोधारा चाँदनीमा स्वतन्त्र समूह गठन गरी सामाजिक कार्य गर्दै आएका छन् । मेयर लिम्बु र कुमाल तत्कालिन नेकपामा नगर कमिटीका पदाधिकारी थिए । नेकपा विभाजनपछि माओवादी फर्किएका कुमाल त्यसपछि पार्टी छाडेर स्वतन्त्र समूह गठन गरी स्वतन्त्र अभियन्ताका रुपमा सामाजिक कार्य गर्दै आएका छन् ।
कुमाल सहितले सामाजिक सञ्जाल फेसबुक लगायतका माध्यमबाट नगरपालिकाका गलत कामको खबरदारी गर्दै आएका छन् । पछिल्लो पटक उनीहरु तिनै जना फेसबुकबाट आर्थिक सहयोग संकलन गरी बडवाल टोलका हात्ती पीडितका घर बनाउन थालेका छन् ।
