
महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित गौशालामा जातीय विभेद गरिएका लक्ष्मी सार्कीको घट्नालाई प्रहरी कार्यालयमा छलफल गरी मिलापत्र गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा पीडित सार्की सहित प्रहरी अधिकारी गौशालाका पदाधिकारी र दलित समुदायका अगुवाबीच छलफल भएर मिलापत्र गरिएको छ ।
पाँच महिनादेखि कार्यरत सार्कीलाई जातीय विभेद गर्दै सोमबार राति गौशालाका कोषाध्यक्ष मोति सिह महता सहितले लत्ता कपडा बाहिर फालेर निकालेका थिए । त्यसपछि दलित समुदायका अगुवाले प्रहरी कार्यालय पुगेर घट्नाबारे जानकारी दिएका थिए । त्यसपछि प्रहरीले ब्रह्मदेब पुगेर सार्कीलाई गौशालामा बस्न लगाएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा सार्कीलाई जातीय विभेद नगर्ने र कामबाट हटाउन नहुने सहमति गरी घट्नामा मिलापत्र गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा छलफल गरी मिलापत्र गरिएको यो जातीय विभेदको पहिलो घट्ना हो । दलित समुदायका अगुवाको आग्रहमा प्रहरीले जातीय विभेद घट्नामा मिलापत्र गरिएको प्रहरीको भनाई छ ।
सरकारवादी मुद्दामा जाहेरी लिएर अनुसन्धान अघि बढाउनु पर्ने प्रहरीको रोहबरमा मिलापत्र गरिएको छ । प्रहरी स्रोतका अनुसार सोमबार साँझ पुगेका दलित समुदायका अगुवाले सार्कीको अवस्था कमजोर भएकाले उनलाई गौशालाबाट बसाउने वातावरण बनाई दिनु पर्ने प्रहरीलाई आग्रह गरेका थिए ।
गौशालामा घाँस काट्ने र गाई बाच्छाको स्याहारसुहारको जिम्मेवारी पाएकी सार्कीलाई दलित भन्दै मंसिर दोस्रो सातादेखि जातीय रुपमा विभेद गर्न थालिएको थियो । गौशालाका कोषाध्यक्ष महता र त्यहाँका कर्मचारीहरुले गौशाला छाडेर जान दबाव दिँदै आएका थिए । उनलाई चियापानी नचल्ने भन्दै शौचालय जान बन्द गरिएको थियो । उनले छोएका भाँडाकुँडालाई पानी छर्केर उल्टो पारी सुकाउने गरिएको थियो ।
समितिका कोषाध्यक्ष महता सहितको दबाव सहेर बस्दै आएकी सार्कीलाई सोमबार साँझ उनीहरुले कोठाबाट जबरजस्ती बाहिर निकालि दिएका थिए । त्यसपछि दुई छोरी सहित उनी अलपत्र परेर सडकमा आएकी थिइन् ।
बैतडी माइती घर भएकी सार्कीका सात महिने र साढे तीन वर्षकी दुई छोरी छन् । तराईमा घरबार र जग्गा जमिन केही नभएकाले उनी गौशालामा काम गरी जीविकोपार्जन गर्दै आएकी छन् ।
जिल्ला प्रहरी कार्यालयमा छलफलपछि सार्की गौशालामा काममा फर्किएकी छन् । प्रहरी कार्यालयको छलफलमा जिल्ला प्रहरी उपरीक्षक कमल थापा, महाकाली गौशाला व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र बहादुर चन्द लगायत दलित समुदायका अगुवा सहभागी भएका थिए । प्रहरी कार्यालयमा जातीय विभेदको मुद्दामा मिलापत्र गरिएको दलित समुदायका अगुवाले प्रहरीलाई धन्यवाद दिएका छन् ।
प्रहरी कार्यालयमा दलित समुदायका अगुवाले जातीय विभेद गरिएको कुरा बारम्बार उठाए पनि कानुनी प्रक्रिया जाने कुरासम्म नगरेको छलफलका सहभागीले बताएका छन् ।
सोमबार साँझ सार्की गौशालाबाट निकालिएपछि सुदूरपश्चिम प्रदेश सभा सदस्य हिरा सिह सार्की, संविधान सभा सदस्य पुरन सिह दयाल, माओवादी केन्द्रका नेता गणेश विक, मुक्त हलिया समुदायका अगुवा शिवी लुहार लगायतका प्रहरी कार्यालय पुगेका थिए ।
