

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले सुदूरपश्चिम प्रदेश सरकारले सशक्त भएर जनतामा जानु पर्ने आवश्यकता देखिएको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको प्रमुख आतिथ्यमा शुक्रबार दोधारा चाँदनीमा आयोजित सुरक्षित र दिगो विकासका लागि उत्थानशिल पालिका मञ्चको तेस्रो कञ्चनपुर सम्मेलन–२०८० मा उनले जन अपेक्षा सम्बोधनका लागि प्रदेश सरकार खरो रुपमा उत्रिनु पर्ने बताएका हुन् ।

मेयर महराले प्रदेश सरकारले भनसुनका आधारमा गर्ने सबै कार्य बन्द गर्न पर्ने आग्रह गरे । उनले व्यक्ति चाहनाका आधारमा योजना बाँड्ने प्रवृत्ति रोकिनु पर्ने मेयर महराको जोड थियो ।
‘प्रदेश सरकारले खरो रुपमा उत्रिन पर्ने आवश्यकता छ, भनसुनका रुपमा हुने सबै कार्य बन्द गरिनु पर्छ, मेयर महराले भने,‘इन्टेस्ष्टका आधारमा हुने योजना प्राप्तिलाई रोकिनु पर्छ ।’

कञ्चनपुरमा महाकाली, दोदा सहित अन्य साना ठूला नदीले बर्खे याममा बाढी र डुबान पर्दै आएकाले नदी नियन्त्रणका प्रयास प्रभावकारी रुपमा सञ्चालन गरिनु पर्नेमा जोड दिए ।
मन्त्री देउवालाई उनले शुक्लाफाँटा नगरपालिका सहित कञ्चनपुरका अधिकाँश स्थानीय तह मध्यवर्ती क्षेत्रबाट विकास निर्माणका कार्य गर्न नसक्ने अवस्थामा भएकाले सहजीकरणका लागि आग्रह गरे । शुक्लाफाँटाका १२ मध्ये १० वडामा मध्यवर्ती क्षेत्रमा परेको महराको भनाई थियो ।
संघ र प्रदेश सरकारले स्थानीय तहको अनुदान कटौती गरेकाले सञ्चालन गर्न समस्या आएको उनले बताए । ‘हाम्रो शुक्लाफाँटामा आन्तरिक राजश्व दुई करोड छ, त्यसले कति दिन चलाउँला, अरुको त हाम्रो जनि छैन’ उनले भने,‘स्थानीय तहलाई वित्तिय स्रोत व्यवस्थापनमा सहयोग आवश्यक छ ।’
कार्यक्रममा मेयर महराले चौथो सम्मेलन शुक्लाफाँटामा गर्ने घोषणा गरेका छन् । भीमदत्तमा पहिलो सम्मेलन भएको थियो । दोधारा चाँदनीको मेयर किशोर कुमाल लिम्बुको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना सहित विभिन्न स्थानीय तहका प्रमुख लगायतका सहभागी भएका छन् ।
भीमदत्त नगरपालिकामा २०७८ मा पहिलो पटक गरिएपछि दोस्रो पुनर्वासमा गरिएको थियो । दिगो शहरी विकास, जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरणका विविध विषयमा छलफल हुने तथा सम्मेलनमा यस वर्ष मुख्यतया तीन विषयमा छलफल गरिएको छ ।

