भीमदत्तमा पनि शुक्लाफाँटा निकुञ्ज किनारका वस्तीमा हात्ती आतंक

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका हात्ती वस्तीमा पसेपछि किनारका वासन्दा त्रसित भएका छन् । दुई महिनादेखि निकुञ्जका हात्तीहरु राती बस्तीमा आएर स्थानीयको बालीनाली नोक्सान गर्दै आएका छन् ।

भीमदत्त नगरपालिका १३ देखि १९ सम्म शुक्लाफाँटा निकुञ्ज किनारका सबै वस्तीमा दैनिक जसो हात्ती आउने गरेका छन् । हात्तीले स्थानीयको बालीनाली, तरकारी र कच्ची घर भत्काएको छ ।

भीमदत्त नगरपालिका १८ का वडा सदस्य हेम बहादुर बस्नेतले हात्तीको त्रासले निकुञ्ज किनारका वस्तीमा त्रास फैलिएको बताए । ‘अहिले १३ नम्बर वडादेखि किनारका सबै वडामा हात्तीको त्रास छ, दिनदिनै राति आउने गरेका छन्’ उनले भने,‘हात्तीबाट कसरी जोगिने हो भन्ने समस्या छ ।’

भीमदत्त नगरपालिका कार्यपालिका सदस्य चक्र सुनारले हात्तीको त्रासले वासिन्दाको रातको निन्द्रा हराएको बताए । ‘हात्ती कति बेला आएर नोक्सान गर्ने हो भनेर रातभरि सुत्न पाएका छैनन्’ उनले भने ।

कार्यपालिका सदस्य सुनारका अनुसार हात्तीले स्थानीयको गहुँबाली कुल्चेर नोक्सान गरि दिएको छ । शुक्लाफाँटाबाट राति तीन चार हात्ती एक साथ र अर्को हात्ती एक्लै वस्तीमा आउने गरेको स्थानीय बताउँछन् ।

एक्लै वस्तीमा आउने हात्ती पटाका पड्काउँदा पनि हलचल नगरी बस्ने गरेको कार्यपालिका सदस्ुय सुनार बताउँछन् । उनका अनुसार यो हात्ती आगो देखेपछि मात्रै भाग्ने गरेको छ । स्थानीले पटका पड्काएर, गाडीको आवाज निकालेर तथा आगो बालेर हात्तीलाई धपाउँदै आएका छन् ।

निकुञ्जबाट हात्ती आएपछि स्थानीयले निकुञ्ज कार्यालयमा पटक पटक जानकारी गराएका छन् । निकुञ्ज कार्यालयका कर्मचारी अहिलेसम्म वस्तीमा नआएको उनीहरुको गुनासो छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले सोमबार राष्ट्रिय प्रकृति संरक्षण कोषमा पत्रकारहरुसित गरिएको कार्यक्रममा मानव र वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरण गर्नका लागि मेसवायर तार जाली हाल्ने कार्यक्रम गरिने आफ्नो योजना भएको बताएका छन् ।

सम्बन्धित
Loading...