

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका विभिन्न वडाका वासिन्दाले छाडा पशु चौपाया नगरपालिका कार्यालय ल्याएका छन् । छाडा चौपायाले बालीनाली नोक्सान गरी हैरान गरेपछि वासिन्दाहरुले सोमबार चौपायाहरुलाई नगरपालिका कार्यालय पुगाएका छन् । यस अघि गत वर्ष पनि वासिन्दाले नगरपालिका क्षेत्रका चौपायालाई नगरपालिका कार्यालय पुगाएका थिए ।
छाडा चौपायालाई ल्याउन आएका वासिन्दाले जनप्रतिनिधिलाई पटक पटक आग्रह गर्दा समेत आश्वासन दिने बाहेक अन्य कार्य हुन नसकेपछि चौपायालाई कार्यालय लिएर आएको बताए । उनीहरुले छाडा चौपायाका कारण आफूहरुलाई बालीनाली जोगाउन समस्या भएको उनीहरु बताउँछन् ।


वासिन्दाले जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गरेका छन् । जनप्रतिनिधिले वेवास्ता गरेको भन्दै रमा लुहारले समान्य पशु चौपाया व्यवस्थापन गर्न नसकेकोमा आक्रोश पोखिन । उनीहरुले आगामी दिनमा चौपाया व्यवस्थापनको आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
भीमदत्त नगरपालिकाकाले चौपाया व्यवस्थापनका लागि प्रयास गर्दै आएको दावी गरेको छ । स्थानीय तह निर्वाचनमा मेयर पदम बोगटीले चौपाया व्यवस्थापनलाई प्रमुख चुनावी एजेण्डा बनाएका थिए ।
मेयर बोगटीले हालसम्म चौपाया व्यवस्थापनका लागि छलफल, भ्रमण बाहेक अन्य कार्य गर्न सकेका छैनन् । भीमदत्तको नगर सभाबाट चौपाया व्यवस्थापनका लागि अक्षय कोष बनाउने निर्णय गरिए पनि कार्यान्वयनमा आएको छैन ।
स्वतन्त्र अभियन्ता कृष्णदत्त जोशी बोक्सरले भीमदत्तको गैर जिम्मेवारीले चौपाया व्यवस्थापन नभएर वासिन्दाले दुःख पाउँदै आएको बताए । ‘यो भीमदत्तको लाचारीपन हो, गैर जिम्मेवारीपन हो’ उनले भने,‘जनतालाई दुःख दिने कार्य तत्काल बन्द गरिनु पर्छ ।’

