

महेन्द्रनगर । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि करिब डेढ घण्टा ढिला गरी मतदान सुरु भएको हो ।

अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गरेका हुन् । यसअघि मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै स्थगित गरिएको थियो ।

अहिले बिहान पनि मतदानस्थलमा पुग्न ओलीले ढिला गरेपछि मतदानस्थलमा प्रतिनिधिहरू लाइन लागेर पर्खिएका थिए । मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन्। महाधिवेशनमा देशभरबाट आएका २२६३ प्रतिनिधिले मतदान गर्ने छन् ।

