

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ गोबरैयाकी मेलिना जोशी कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण) मा कक्षा ११ मा पढ्छिन् । व्यवस्थापन संकायकी जोशी कक्षा ९ देखि साधारणमा पढ्न थालेकी हुन् । त्यस अघि उनी गोबरैयास्थित ग्रिनलैण्ड एकेडेमीमा पढेकी थिइन् ।
जोशीले साधारण स्कुल र पढाई दुबै राम्रो भएको बताइन् । ‘यो स्कुल र पढाई दुबै राम्रो छ’ उनले भनिन् । बैंकिङ्ग जागिरे हुने लक्ष्य राखेकी जोशी तेक्वान्दोकी खेलाडी हुन् । उनी विद्यालयमा विद्यार्थीहरुलाई तेक्वान्दो सिकाउँछिन् ।
जोशसित तेक्वान्दो सिक्दै आएकी शिवानी राना कक्षा ७ मा पढ्छिन् । कैलालीको धनगढीकी राना रेडियन्ट मावि छाडेर साधारण आएकी हुन् । ‘आमा बुवा यतै आएपछि म पनि यहीं आएर पढ्न थाले, पहिला रेडियन्टमा पढ्थे, अहिले त्यहाँ छाडेर यता आएर पढ्दैछु’ उनले भनिन्,‘पढाई राम्रो छ ।’
४९ वर्ष अघि सञ्चालन गरिएको साधारण स्कुलमा हाल जोशी र राना सहित दुई हजार नौ सय ४५ विद्यार्थी अध्ययनरत छन् । सम्भवतः यो विद्यार्थी संख्या सुदूरपश्चिम प्रदेशमै उच्च हो ।
नर्सरीदेखि कक्षा १२ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुने गर्छ । विद्यालयमा आइएस्सी एजी, सिभिल सब इन्जिनियर, सव ओभरसियर र २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिमका कक्षाहरु सञ्चालन हुने गरेका छन् ।
कक्षा ११ र १२ मा शिक्षा, कानुन र व्यवस्थापन विषयको पढाई हुन्छ । २०७५ देखि प्राविधिक विषयको पठनपाठन थालिएको हो । त्यस अघिसम्म कक्षा १२ सम्म पठनपाठन हुन्थ्यो ।
२०३३ मा साधारण विषय पढाउन विद्यालय स्थापना गरिएको थियो । १० वर्ष अघि २०२३ मा खोलिएको बैजनाथ माविमा प्राविधिक विषयको पठनपाठन हुन्थ्यो । बैजनाथमा प्राविधिक विषय भएकाले कक्षा ६ देखि १० सम्मका लागि साधारण स्कुल खोलिएको थियो । सरकारी नीति अनुसार २०४६ पछि कक्षा १ –५ थपिएका हुन् ।
साधारण विषय पठनपाठन हुने भएकाले विद्यालय साधारण स्कुलका नामले चिनिन पुगेको विद्यालयका प्रधानाध्यापक देबराज भट्टले बताए ।
‘२०२३ मा यो विद्यालय साधारण विषय पढाउनका लागि खोलियो, त्यसपछि १– ५ थपियो, साधारण विषय पढाउने भएकाले यो विद्यालय साधारण विद्यालयको नामले चिनिन थाल्यो’ उनले भने ।
उनी २०८० देखि विद्यालयका प्रधानाध्यापक छन् । त्यस अघि ललित सिह साउँद प्रधानाध्याक थिए । उनी अनिवार्य अवकाश भएपछि भट्ट प्रधानाध्यापक भएका हुन् । २०७५ मा आइएस्सी एजी ,पठनपाठन गरी प्राविधिक शिक्षा अध्यापन गराउन थालिएको थियो । त्यसपछि प्राविधिक विषय विस्तार गरिएका छन् ।
विद्यालयमा हाल आइएस्सी एजी पठनपाठन बन्द छ । कृषि पढ्ने विद्यार्थी घटेपछि पठनपाठन बन्द गरिएको छ । आइएस्सी एजीका विद्यार्थीका लागि बजार माग नभएकाले विद्यार्थी संख्या घटेको हो ।
सामुदायिक विद्यालयले बर्सेनी विद्यार्थी घट्ने समस्या झेल्दा साधारण स्कुलमा बढ्दै गएका छन् । विद्यालयका शिक्षक विष्णु भट्टले गत शैक्षिक सत्र भन्दा यस वर्ष विद्यार्थी बढेको बताए ।
‘पोहोर सालसम्म हामीसित सुदूरपश्चिममा दोस्रो स्थानको विद्यार्थी संख्या थियो, अहिले हामीसित सुदूरपश्चिममै सबैभन्दा बढी विद्यार्थी छ’ उनले भने ।
विद्यालयमा कञ्चनपुर, कैलाली सहित सुदूरपश्चिम पहाडका सबै जिल्ला र कर्णाली प्रदेशका विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयको नर्सरीमा मात्रै १ सय ७४ विद्यार्थी छन् । ती सबै विद्यार्थीका दुई समूह छन् । विद्यालयमा एक सय हाराहारी शिक्षक कर्मचारी छन् ।
विद्यालयसित २०६५ सम्म विद्यार्थी संख्या थियो । अंग्रेजी माध्यममा नर्सरीदेििख पठनपाठन थालिएपछि अनपेक्षित रुपमा संख्या बढेको हो । नर्सरीमा अंग्रेजी पढाउन थालिएपछि नेपाली माध्यममा पठनपाठन बन्द गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक भट्ट विद्यार्थी अंग्रेजीमा पठनपाठन, युवा शिक्षक, पर्याप्त भौतिक पूर्वाधार, खेल मैदान, पठनपाठनमा प्रविधि प्रयोग, उत्कृष्ठ शैक्षिक नतिजा, अनुशासन र विद्यालयको निरन्तर मिहिनेतले बर्सेनी विद्यार्थी संख्या बढेको बताए ।

‘म यहाँ आउँदा २०७६ मा दुई हजार २२ सय विद्यार्थी थिए, यहाँ प्रत्येक बर्षे विद्यार्थी संख्या बढ्दै गएको छ’ उनले भने,‘सबैको विश्वास हो यो, विद्यार्थी अनुपातमा शिक्षक कम भए पनि कक्षा खाली हुँदैन, मेनेज गरि रहेका छौ ।’
विद्यालयका अनुसार कक्षा १ देखि ४ सम्म २÷२, कक्षा ५,६ र ७ मा ३÷३, कक्षा ८ मा ४ तथा कक्षा ९ र १० मा ६÷६ सेक्सन छन् । कक्षा १ –५ मा ३५ र त्यस बाहेक सबै कक्षामा ५० विद्यार्थी एक सेक्सनमा राखिएका छन् ।
विद्यालयको कक्षा ५, ९ र ११ मा बर्सेनी नयाँ विद्यार्थी थपिने गरेका छन् । कक्षा ११ मा सबैभन्दा बढी कमर्शमा ६ सेक्सन छन् ।
पठनपाठनमा प्रविधि प्रयोग गरी पढाउन थालिएको छ । हाल ५० कोठामा प्रोजेक्टर जडान गरिएको छ । १० कोठामा स्मार्ट बोर्ड छन् । सबै कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधाानाध्यापक भट्टले बताए ।
‘आधुनिक प्रविधिबाट पढाउँदा बच्चाहरु खुसी छन्, विद्यार्थीलाई हामीले प्रोजेक्ट वर्कमा बढी केन्द्रित गराउँछौ’ उनले भने ।
विद्यार्थीका लागि पठनपाठन बाहेक अतिरिक्त क्रियाकलाप नियमित छन् । हरेक शुक्रबार बुक फ्रि डे राखिएको छ । विद्यार्थीहरुलाई सम्बन्धि विषय अध्ययनका लागि फिल्ड भ्रमण लग्ने गरिएको छ ।
शिक्षकहरुको तहगत जिम्मेवारी बाँडफाँट गरी समिति बनाइएका छन् । विद्यालयमा अनुशानस कायम राख्न प्रकाशदत्त जोशीको संयोजकत्वमा अनुशासन समिति बनाइएको छ ।
अनुशासन समितिले विद्यार्थी विद्यालय आएदेखि घर पुग्दासम्मको अवस्था हेर्ने जिम्मेवारी दिइएको छ । ‘विद्यार्थीले अनुशासनमा बसे नबसेको सबै हेरेर अनुशासन कायम राख्ने जिम्मेवारी समितिको हो’ प्रधानाध्यापक भट्टले भने ।
विद्यालयको एसईई नतिजा अपेक्षित र उत्कृष्ठ भएको प्रधानाध्यापक भट्टले बताए । गत वर्ष एसइईमा २ सय ५६ मध्ये २ सय ४९ उत्तीर्ण भएका थिए । शैक्षिक सत्र २०७९ मा २८६ मध्ये २८१ विद्यार्थी उत्तीर्ण भए भने २०७८ मा २१२ मा २०९ जना उत्तीर्ण भए ।
२०७७ मा १४३ विद्यार्थीमध्ये १४२, २०७६ मा १३५मा १३३ र २०७५ मा ६८ मा सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।
विद्यालयले एसईई दिने विद्यार्थीहरुका लागि विद्यालमै ४ विषयको कोचिङ्ग पढाउने गरेको छ । कोचिङ्गमा विज्ञान, गणित, ऐच्छिक गणित र अंग्रेजी विषय पढाउने गरिन्छ ।
‘एसईई दिने विद्यार्थीहरुको तयारीका लागि कोचिङ्ग कक्षा सञ्चालन गर्छौ’ प्रधानाध्यापक भट्टले भने ।
बर्सेनी विद्यार्थी बढ्दो क्रममा शिक्षक दरबन्दी न्यून भएकाले निजी स्रोतका शिक्षकबाट पठनपाठन गर्न पर्ने अवस्था भएको प्रधानाध्यापक भट्टले बताए ।
विद्यालयका ९१ शिक्षक कर्मचारीमा ३० जना शिक्षक दरबन्दीका छन् । विद्यार्थी संख्याका आधारमा सरकारी निजी स्रोत सबै शिक्षक कम भएको प्रधानाध्यापक भट्टले बताए ।
२०७६ मा साधारण स्कुललाई नमूना विद्यालय घोषणा गरिएको थियो । विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा विरेन्द्रराज विष्ट छन् । विष्टले नमूना विद्यालय बनेपछि शैक्षिक र भौतिक पूर्वाधार निर्माणमा विकास भएको बताए ।
विद्यालयले कमजोर आर्थिक अवस्था, जेहेन्दार लगायतका विद्यार्थीलाई बर्सेनी छात्रबृत्ति दिने गरेको समितिका अध्यक्ष विष्ट बताउँछन् ।
विद्यालय नमूना भएपछि २४ कोठाका दुई भवन बनेका छन् । पठनपाठनमा प्रोजेक्टर प्रयोग नमूना भएपछि सुरु गरिएको हो । शिक्षकहरुले पठनपाठनका लागि ल्यापटप पाएका छन् ।
विद्यालयमा विज्ञान प्रयोगशाला बनेको छ । सुदूरपश्चिम प्रदेशमा विज्ञानी प्रदर्शनीका लागि विद्यालय छनौट गरिएको छ । नमूना कार्यक्रम अन्र्तगत शैक्षिक सुधारका कार्य गरिएका छन् । ‘नमूना बनेपछि विद्यालय सबल बनाउन सहयोग भयो’ प्रधानाध्यापक भट्टले भने ।
