

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) क्षेत्र नं. ३ क्षेत्रीय समितिले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्ला बाहिरबाट सिफारिश उम्मेदवार स्वीकार्य नगर्ने निर्णय गरेको छ ।
रास्वपा क्षेत्रीय समितिले प्रतिनिधि सभा सदस्यका लागि ज्ञानेन्द्र सिह महताको नाम सिफारिश गर्र्दै केन्द्रबाट सिफारिश भएर आउने उम्मेदवार मान्य नहुने निर्णय गरेको छ ।

रास्वपाले महतालाई यस अघि कञ्चनपुर ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनलाई उम्मेदवार बनाउने निर्णय बाहिर आएपछि सामाजिक सञ्जालमा अन्य आकाँक्षीको नाम समेत बाहिर आएका थिए ।
रास्वपा क्षेत्रीय समितिले बुधबार सामाजिक सञ्जालमा आएका ती सबै हल्ला निराधार भएको र जिल्लाबाट सिफारिश गरिएका महता बाहेक अन्यलाई उम्मेदवार सिफारिश गर्न नसकिने निर्णय सार्वजनिक गरेको छ ।
रास्वपाका नेता भुपेन्द्र सिह नागरीले महतालाई एकल उम्मेदवार सिफारिश गरिएको र बाहिरबाट आउने उम्मेदवार स्वीकार्य गर्न नसकिने बताए ।
रास्वपासित एकतापछि नेता भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको टीम धिरज जोशी कञ्चनपुर ३ मा उम्मेदवार हुने चर्चा बुधबार विहान फेसकुबाट सार्वजनिक भएको थियो ।
बालेका जोशी उम्मेदवार हुने चर्चा बाहिरएपछि रास्वपा क्षेत्रीय समितिले महतालाई एकल सिफारिश गरी बाहिरबाट आउने अन्यलाई स्वीकार्य गर्न नसकिने निर्णय गरेको हो ।
कञ्चनपुर ३ मा रास्वपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि कृष्णदत्त जोशी बोक्सर, मनोज भट्ट र डा. भोजराज पन्त आकाँक्षी भएको चर्चा बाहिर आएका छन् ।

उनीहरुमध्ये पन्तलाई उम्मेदवार बनाउन रास्वपा र अन्य पार्टी आवद्ध बुद्धिजीविहरुको समूह आन्तरिक तयारी गरि रहेको छ ।
रास्वपा प्रवेशपछि बोक्सर उम्मेदवारी छनौटमा सहभागी नभएपछि असन्तुष्ट छन् । बोक्सर जिल्ला बाहिर भएको मौका पारी रास्वपा क्षेत्रीय समितिले उम्मेदवार चयन गरेको थियो ।
फागुनमा हुने निर्वाचनमा उम्मेवार बनाउने आश्वासन दिएर बोक्सरलाई पार्टी प्रवेश गराइएको थियो । रास्वपाका केही नेता बोक्सरलाई उम्मेदवार बनाउन केन्द्रीय नेतासम्म लबिङ्ग गरि रहेका छन् ।
तत्कालिन माओवादी केन्द्रबाट २०७९ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको उप मेयर लडेका उनी त्यसपछि स्वतन्त्र भएका थिए । एक महिना अघि मात्रै उनी रास्वपाको सदस्य भएका थिए ।
प्रतिनिधि सभा सदस्य उम्मेदवारीमा घात भएपछि बोक्सर असन्तुष्ट भएका छन् । उनी आफ्ना समर्थकसित आफूलाई धोका दिएर गुनासो गरि रहेका छन् ।
रास्वपा उम्मेदवारका रुपमा चर्चा आएका पन्त शिक्षा क्षेत्रका हुन् । अर्का भट्ट केही महिना अघिसम्म समाज कल्याण परिषद्का सदस्य सचिव थिए ।
कञ्चनपुर २ बाट सिफारिश दिपक बोहराले पनि क्षेत्र नं. ३ बाट चुनाव लड्ने चर्चा बाहिर आएको थियो । बोहराले आफू पूर्व गृहमन्त्री रमेश लेखकसित इच्छुक भएको बताएका थिए ।
कञ्चनपुर ३ पूर्व गृहमन्त्री लेखकको प्रभाव भएको क्षेत्र हो । लेखक यस क्षेत्रबाट २०५६ देखि तीन पटक निर्वाचित भई सकेका छन् । ०७४ मा उनी एमालेका नेता डा. दिपक प्रकाश भट्टसित पराजित भएका थिए ।
काँग्रेसबाट फागुन २१ गते चुनावका लागि लेखक सिफारिश भएका छन् ।

