

महेन्द्रनगर । काँग्रेस नेता एबम् राष्ट्रिय सभा सदस्य बलदेब बोहराको निधन भएको छ । बेदकोट नगरपालिका ८ का बोहराको बुधबार काठमाडौंमा निधन भएको हो ।
मृगाौला समस्याबाट पीडित बोहरा केही महिना अघि कम्मरको नशा दबिएपछि शल्यक्रिया गरिएको थियो । काठमाडौंस्थित उपचारका क्रममा बोहरको निधन भएको हो ।

बोहराको बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले बताए ।
अन्त्येष्टिपछि अन्य सबै क्रियाकर्म बेदकोटस्थित घरमै गरिने तयारी गरिएको छ ।
शालिन स्वभाव र भद्र छविका बोहरा काँग्रेस कञ्चनपुर स्थापनापछि पार्टीमा सक्रिय भएका हुन् । स्वर्गिय बोहराका धर्मपत्नि, एक छोुरा र चार छोरी छन् ।
काँग्रेस कञ्चनपुरका पूर्व जिल्ला सचिव एबम् बेदकोटका मेयर बोहराले स्वर्गिय बोहरा काँग्रेसका जुझारु नेता भएको बताए ।

काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य र महासमिति सदस्य भएका उनी २०४९ देखि २०५४ सम्म तत्कालिन जिल्ला विकास समिति कञ्चनपुरको सभापति भएका थिए ।
उनी प्रजातन्त्र पुनर्वहालीको आन्दोलनमा सक्रिय रुपमा सहभागी भएका थिए । बोहरा २०६४ को संविधान सभा निर्वाचनपछि संविधान सभा सदस्य भएका थिए ।
बेदकोटका मेयर बोहराले स्वर्गिय बोहरा प्रजातन्त्र पुनवर्हालीमा बोहराको भूमिका महत्वपूर्ण भएको उल्लेख गरेका छन् । ‘नेपाली काँग्रेसका आदरणीय नेता राष्ट्रिय सभा सदस्य माननीय बलदेव बोहराज्यू को आज दिउँसो भएको असामयिक निधनको खवरले स्तब्ध भएको छु । प्रजातन्त्र पुनःस्थापनाका आन्दोलनमा वहाँको भूमिका अत्यन्तै महत्त्वपूर्ण थियोे।वहाँ हामी सबैका लागि प्रेरक ब्यक्तित्व हुनु हुन्थ्यो। शोकको यस घडीमा दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै सकल परिवारमा गहिरो समवेदना ब्यक्त गर्दछु ! इश्वरले सबैमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् ! जय नेपाल ।’ मेयर बोहराले भनेका छन् ।
बेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक कुमार चन्दले स्वर्गिय बोहरा बेदकोटका अभिभावक भएको उल्लेख गर्दै निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
‘काँग्रेस कञ्चनपुरका संस्थापक नेता बहुदलीय प्रजातन्त्र ल्याउन पन्चायत व्यवस्था विरुद्ध निर्भिकता पुर्वक लडेका संघर्षशिल नेता रास्ट्रिय सभा सदस्य माननीय तथा जिल्ला बिकास समिति कञ्चनपुरका पूर्व सभापति( २०४९––२०५४), बेदकोट नगरपालिकाका राजनैतिक अभिभावक श्री बल्देब बोहराज्यूको उपचारको क्रममा आज दिउँसो असामयिक निधन भएको दुःखद खबरले स्तब्ध र मर्माहत भएको छु वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा असिम समबेदना ब्यक्त गर्दछु ’ निवर्तमान मेयर चन्दले सामाजिक सञ्जालमा भनेका छन् ।
यसैगरी एमाले पूर्व साँसद डा. दिपक प्रकाश भट्ट सहित नेताहरुले बोहराको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

