
द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रको १९ औँ साधारण सभा, पत्रकार सिनाल सहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

महेन्द्रनगर । गैर सरकारी संस्था द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रको १९औँ वार्षिक उत्सव तथा साधारण सभा भएको छ ।
संस्थाका अध्यक्ष सीता बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक प्रमुख र बेदकोट नगरपालिका–५ का वडा अध्यक्ष चित्रदेव भट्ट र गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवा विशिष्ठ अथिति थिए ।
कार्यक्रमका प्रमुख अतिथि लेखकले महिला हक अधिकारका लागि संस्थाले सराहनी कार्य गर्दै आएको उल्लेख गर्दै सामाजिक तथा आर्थिक उत्थानका लागि संस्थाले उल्लेखनीय योगदान पु¥याएको बताइन् ।

बेदकोट नगरपालिका–५ का वडा अध्यक्ष चित्रदेव भट्टले द्वन्द्वपीडित तथा एकल महिलाका लागि संस्थाले वेदकोट नगरपालिकामा समेत प्रवद्र्धनात्मक तथा उत्थानमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने पाँच जना सम्मानित हुनु भएको थियो ।वार्षिक उत्सवका अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने पाँच जनालाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा शुक्लाफाँटा एफएममा कार्यरत पत्रकार सुजित सिनाल, पूर्व सेनानी गोरख पुजारा, बेदकोट नगरपालिका–५ का वडा अध्यक्ष चित्रदेव भट्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर महिला सेलमा कार्यरत प्रहरी सहायक निरीक्षक करिना ओईरे तथा एकल महिला मन्तुरा राना छन् ।
द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले विगत १९ वर्षदेखि द्वन्द्वपीडित तथा एकल महिलाका सवाललाई केन्द्रमा राखेर विभिन्न सामाजिक तथा उत्थानमुखी गतिविधि सञ्चालन गर्दै आएको छ।
