

महेन्द्रनगर । बिहीबार रातिदेखि अविरल परेको झरी शनिबार साँझदेखि रोकिएको छ । झरी रोकिएपछि महेन्द्रनगर बजारमा सवारी चल्न थालेका छन् । बजारका सडकमा सर्वसाधारण देखिन थालेका छन् ।
यस अघि बजारमा छिटफुट सवारी चलेका थिए । अधिकाँश पसल बन्द गरिएका छन् । शनिबार विदाका दिन भएकाले पनि बजार क्षेत्रमा सवारी र सर्वसाधारण दुबैको आवागमन निकै पातलो थियो । झरी रोकिएपछि किनमेलका लागि बाहिर निस्किएका छन् ।
बिहीबार रातिदेखि झरी पर्न थालेको थियो । शुक्रबार र रातभरि परेको झरी शनिबार ५ बजेसम्म पुगेको थियो ।
जल तथा मौसम विभागले भारी वर्षाको अनुमानले सर्वसाधारण पानी परेपछि घर बाहिर निस्कन डराएका थिए ।

आगामी दुई दिनसम्म वर्षा हुने पूर्वानुमान रहेकाले कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लामा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार शाहका अनुसार पछिल्लो समय वर्षासँगै विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ । रातिको समयमा केही स्थानमा बहाव बढे पनि बिहान भने केही घटेको थियो। तर शनिबार दिउँसो पुनः केही नदी तथा खोलाको सतह बढेको उनले बताए।
“हिजोदेखि वर्षा भइरहेको छ । बहाव बढेको भए पनि अहिलेसम्म चेतावनीको तहमा पुगेको अवस्था छैन । राति केही बहाव बढे पनि बिहान घटेको थियो, तर आज दिउँसो केही स्थानमा पानीको सतह फेरि बढेको छ,” शाहले भने ।
उनका अनुसार शनिबार र आइतबार कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र अछामका केही नदी तथा खोलामा पानीको सतह सतर्कताको नजिक पुग्न सक्ने अवस्था देखिएको छ ।
बैतडी, दार्चुला, बझाङ, बाजुरा लगायतका पहाडी क्षेत्रमा भने धेरै स्थानमा वर्षाका कारण जोखिमको अवस्था रहेको उनले बताए ।
