

महेन्द्रनगर । कञ्चनपुर ३ मा पहिलो पटक बागी बोकेर चुनावी मैदानमा होमिएका काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले फराकिलो मत अन्तरले जित निकालेका छन् । अघिल्लो निर्वाचनमा एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टसित पराजित उनी यस पटक काँग्रेसका बागीका कारण अप्ठेरोमा पार्ने अनुमान गरिएको थियो ।
निर्वाचन प्रचारप्रसारमा गरिएका ती सबै अनुमानलाई गलत सावित गर्दै उनी कञ्चनपुर ३ मा तेस्रो पटक साँसद निर्वाचित भएका छन् । २०५६ मा पहिलो पटक साँसद जितेका उनी यस पटक फेरि जितेर तेस्रो पटक साँसद भएका छन् । लेखकलाई हराउन चुनावी मैदानमा आएका काँग्रेसका बागी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भन्दा पनि कम मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले २ हजार २८ मत ल्याएका छन् । काँग्रेसका बागी दिपक बहादुर सिह १ हजार र शारदा चन्दले ७ सय ३८ मत ल्याएका छन् । काँग्रेस छाडेर हाम्रो नेपाल पार्टीबाट चुनाव लडेका दुर्गादत्त पाण्डेयले २ सय ७८ मत ल्याएका छन् ।

सिह र चन्द दुबै काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । बागी उम्मेदवार भएपछि उनीहरु दुबै कारवाहीमा परेका छन् । लेखक यस पटक बागी उम्मेदवार बोकेर चुनावी मैदानमा गएका हुन् । अघिल्लो निर्वाचनमा उनीहरु लेखकका सहयोगी थिए ।
कञ्चनपुर ३ मा बागी उम्मेदवारका कारण काँग्रेसका अर्का केन्द्रीय सदस्य एनपी साउँद पराजित भएपछि निर्वाचन क्षेत्र छाडेर अन्यत्र गएका थिए । २०५१ को मध्यावधि निर्वाचनमा साउँद विरुद्ध मान बहादुर सुनार चुनाव लडेका थिए । अहिले माओवादी केन्द्रका नेता सुनारले साउँद भन्दा बढी मत ल्याएका थिए ।
बागीसित पछाडि परेपछि साउँद यो निर्वाचन क्षेत्र छाडेर अन्यत्रबाट चुनाव लड्दै आएका छन् । उनी यस पटक कञ्चनपुर २ बाट चुनाव लडेर अग्रता लिएका छन् ।
लेखकले भने बागीलाई चुनौती दिएर फराकिलो मत अन्तरले चुनाव जितेका छन । कञ्चनपुर ३ मा ९७ हजार, ८ सय २२ मतदातामध्ये ५७ हजार ७५८मत खसेको थियो । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार ५४ हजार ५९ मत सदर र ३ हजार ६सय ९९मत बदर भएका छन् ।

