
प्रस्तावित गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन सुदूरपश्चिमका सबै दलका साँसद एक ठाउँमा, प्रधानमन्त्रीलाई मागपत्र बुझाएर दबाव दिइने

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका सबै दलका साँसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल सुदूरपश्चिम आउनु अघि कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन सरकारलाई दबाव दिएका छन् ।
काठमाडौंमा छलफल गरी उनीहरुले चिकित्सा विश्वविद्यालयका लागि सरकारमाथि दबाव बढाएका छन् । प्रधानमन्त्री दाहाललाई सुदूरपश्चिम आउनु अघि नै चिकित्सा विश्वविद्यालय स्थापनाका लागि मागपत्र बुझाउन सबै साँसद एकमत भएका छन् ।
एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टको अगुवाईमा काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति सहित सबै दलका साँसदहरुले चिकित्सा विश्वविद्यालयका लागि छलफल गरेका छन् ।
निवर्तमान साँसद भट्टले गेटामा चिकित्सा विश्वविद्यालय बनाउने अभियान नै सञ्चालन गरेका छन् । त्यस अनुसार उनले प्रधानमन्त्री सुदूरपश्चिम आउन अघि सबै साँसदसित छलफल गरी सरकारलाई सामूहिक दबाव दिएका छन् ।
चिकित्सा विश्वविद्यालय एकमत देखिएका सबै साँसदहरुले प्रधानमन्त्री दाहाल सुदूरपश्चिम आउनुु अघि नै मागपत्र बुझाउन एकमत भएका छन् । प्रधानमन्त्रीलाई माग पत्र बुझाउन प्रधानमन्त्रीको सचिवालयसित समय मागेर तयारी थालिएको छ ।
काठमाडौंमा प्रधानमन्त्रीलाई मागपत्र बुझाउन नपाए उनलाई सुदूरपश्चिममा नै मागपत्र बुझाइने कार्यक्रम बनाइएको छ । कञ्चनपुर उद्योग बाणिज्य संघको मेला उद्घाटनका लागि प्रधानमन्त्री दाहाल फागुन १ गते महेन्द्रनगर आउन लागेका छन् ।

‘सुदूरपश्चिममा चिकित्सा विश्वविद्यालय आवश्यक छ, यसको आवश्यकता छ भन्ने सबैलाई थाह छ, कही कतै अस्पष्टता हुन सक्छन्, त्यसैले सबैको बुझाइएको एक रुपता हुनु पर्छ, त्यसका लागि सबै दलका साँसदहरुबीच बसेर छलफल गरियो’ चिकित्सा विश्वविद्यालयका अभियानका अभियन्ता डा. भट्टले भने,‘सबैले सुदूरपश्चिममा चाहिन्छ भन्नु भयो, त्यसका लागि प्रधानमन्त्रीलाई मागपत्र लिएर जानेदेखि आआफ्नो क्षेत्रबाट लाग्ने कुरा भएको छ ।’

भट्टले अघिल्लो सरकारको पालादलेखि चिकित्सा विश्वविद्यालयका लागि अभियान अघि बढाएका छन् । नयाँ सरकार आएपछि त्यसलाई निरन्तरता दिँदै साँसद सहित मेडिकल क्षेत्रका व्यक्ति सहित सहभागी गराएर काठमाडौमा कार्यक्रम गरेका छन् । छलफल कार्यक्रमबाट चिकित्सा विश्वविद्यालय सम्बन्धी सबैको बुझाईमा एक रुपता आएको उनले बताए ।
‘नयाँ सरकार आएपछि चिकित्सा विश्वविद्यालयका दबावलाई निरन्तरता दिएका छौ, यसबारे सबै साँसद स्पष्ट हुनु पर्छ, बुझाई एक हुनु पर्छ, त्यसका लागि कारण सामूहिक रुपमा छलफल गरिएको छ’ उनले भने, ‘गेटामा प्रस्तावित मेडिकल कलेज विशुद्ध पढाई मात्रै हुने, यो चिकित्सा विश्वविद्यालय भनेको जनस्वास्थ्यदेखि सुपको सम्पूर्ण स्वास्थ्य विकासका लागि हो भनेर सबै जना एकमत छौ ।’
सुदूरपश्चिम प्रदेशमा हालसम्म स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने मेडिकल कलेज, स्वास्थ्य प्रतिष्ठान लगायतका कुनै पनि निकाय नभएकाले चिकित्सा विश्वविद्यालय अपरिहार्य भएको निवर्तमान साँसद भट्टले बताए ।
‘बीफर्मा, बीएस्सी नर्सिङ्ग लगायतका विषय पढाई हुने स्वास्थ्य संस्था देशभर १५० छन्, सुदूरपश्चिममा एक पछि छैन । २१ मेडिकल कलेज छन्, ७ प्रतिष्ठान छन्, सुदूरपश्चिममा एउटा पनि छैन’ उनले भने,‘ कर्णालीमा प्रतिष्ठान छ, मधेसमा मेडिकल कलेज र प्रतिष्ठान पनि छन्, सुदूपश्चिमको स्वास्थ्य क्षेत्र जनशिक्त दिने ठाउँ छैन, त्यसैले अब स्वास्थ्य र खेलकूद साइक्रेटिक सबै प्रकारको जनशक्ति उत्पादन गर्ने गरी चिकित्सा विश्वविद्यालय सञ्चालन हुनु पर्छ ।’
कैलालीको गेटामा २०५६ देखि सुरु गरिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २०६६ मा ११ करोड बजेट विनियोजन भएर औपचारिक रुपमा कार्य अघि बढेको हो । अहिले गेटामा प्रतिष्ठानका सबै पूर्वाधार निर्माण गरिएका छन् । हालसम्म बेसिक साइन्स भवन, अस्पताल भवन, शैक्षिक भवन, प्रशासनिक भवन, चिकित्सक आवाश, छात्रबृत्ति लगायतका पूर्वाधार निर्माण गरिएका छन् ।
गेटामा भौतिक पूर्वाधार निर्माण सुरु भएपछि सरकारले २०७८ जेठमा प्रा.डा. चेतराज पन्तको नेतृत्वमा गठन गरेको सिफारिश समितिले स्थलगत निरीक्षण गरी प्रतिवेदन पेश गरेको थियो । त्यसपछि प्रतिवेदन सँसदको शिक्षा तथा स्वास्थ्य समितिमा पेश भएर साँसद योगेश भट्टराईको नेतृत्वमा सँसदीय उप समिति गठन गरिएको थियो ।
भट्टराई नेतृत्वको उप समितिले दुई दिन स्थलगत निरीक्षण गरी चिकित्सा विश्वविद्यालय बनाउन सुझाव दिएको थियो । उप समितिमा निवर्तमान साँसद भट्ट आमन्त्रित सदस्य थिए ।
उप समितिले सुझाव सहित प्रतिवेदन पेश गरेपछि चिकित्सा विश्वविद्यालयका लागि विभिन्न क्षेत्रसित छलफल गरिएको छ । निवर्तमान साँसद भट्टले नागरिक समाज, बुद्धिजीवि, अधिकारकर्मी, मेडिकल क्षेत्रका व्यक्ति लगायतसित छलफल गरेका छन् ।
चिकित्सा विश्वविद्यालयका लागि कैलालीको अत्तरिया र धनगढीमा छुट्टाछुट्टै संघर्ष समिति बनाएका छन् । ती दुबै समितिले सरकारलाई दबाव दिदैं आएका छन् ।
