
दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले पायो सर्पदंश उपचार केन्द्र सञ्चालन अनुमति, केन्द्र छिटो सञ्चालनमा आउने व्यवस्थापन समितिका अध्यक्ष वस्नेतको भनाई


महेन्द्रनगर । महाकाली नदी पारी दोधारा चाँदनी नगरपालिकाका स्थानीयले सर्पदशंको उपचारका लागि बाहिर जानु नपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुमति दिएपछि प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र सञ्चालन हुने लागेको हो ।

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष ओम बस्नेतले विभागबाट अनुमति पाएकाले छिटो केन्द सञ्चालन हुने बताए । स्थानीय तह निर्वाचनपछि उनी सपदंश उपचार केन्द्र सञ्चालनका लागि सक्रिय भएर लागेका थिए । दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता समेत रहेका उनी वडा नं. ६ अध्यक्ष पनि हुन् ।


केन्द्र सञ्चालनका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा भेन्टिलेटर लगायतका उपकरण जडान गरिएका छन् । स्वास्थ्य केन्द्रमा चिकित्सक लगायतका जनशक्ति व्यवस्थापन गरी सञ्चालन गरिने समितिका अध्यक्ष वस्नेतले बताए ।
‘सर्पदंशको उपचारका लागि महेन्द्रनगर लगायत अन्यत्र जानु पर्ने बाध्यता थियो, महेन्द्रनगर अस्पताल पुगाउँदा कतिको बाटोमै अकालमा मृत्यू समेत हुने गरेको थियो’ उनले भने,अब अकाल ज्यान गुमाउनु पर्ने अवस्था हुँदैन ।’
प्राथमिक स्वास्थ्य केन्द्रले गत पुस ३ गते विभागमा केन्द्र सञ्चालनका लागि अनुमति दिन निवेदन दिएको थियो । त्यसपछि विभागले स्थलगत निरीक्षण गरेपछि अहिले अनुमति दिएको हो ।
स्वास्थ केन्द्रमा हाल एक जना विशेषज्ञ डाक्टर र ५ जना एमबीबीएस डाक्टर कार्यरत छन् । यसैगरी ३ जना प्रयोगशाला, दुई जना नर्सिङ्ग अधिकृत सहित ४२ जना कर्मचारी कार्यरत छन् ।
अहिले केन्द्रबाट इमर्जेन्सी सहित फार्मेसी, स्वास्थ बिमा, एक्सरे, रेविजको खोप लगायतका अन्य सेवा प्रवाह हुँदै आएका छन् ।
