

महेन्द्रनगर । महाकाली नदी निर्माणाधिन पुलको दुबैतिरको किनारमा बनाउन लागिएका चार पोखरीका बाँध(गाइड बण्ड) निर्माण कार्य सकिन लागेको छ । कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने लक्ष्य राखेर निर्माण गरिएको पुललाई पर्यटकीय स्थल बनाउन दुबैतिर पोखरी निर्माण जारी राखिएको छ । पोखरीमा यस अघि दुई वर्ष अघि नै आइल्याण्ड बनाईएका थिए ।
भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दुबैतिरका पोखरीका लागि गाइडबण्ड निर्माण कार्य लगभग अन्तिम अवस्थामा पुगेको महाकाली पुल आयोजनाका सव इन्जिनियर दुर्गादत्त अवस्थीले बताए । ‘पुललाई रिक्रिएसन सेन्टर बनाउने लक्ष्य अनुसार दुबैतिरका किनारमा चार ओटा पोखरी निर्माण भई रहेका छन्’ उनले भने,‘भीमदत्त र दोधारा चाँदनी दुबैतिर काम जारी छ, अब धेरै काम छैन, छिटो सकिन्छ ।’

उनले हालसम्म गाइड बण्ड सहित स्लो प्रोटेक्सन वाल लगायतका संरचना निर्माण गरिएको बताए । भीमदत्त नगरपालिका क्षेत्रका दुई पोखरीमध्ये अप स्ट्रिटममा १ हजार ९ सय ६० मिटर र डाउन स्ट्रिममा ८ सय ४५ मिटरको गाइड बण्ड निर्माण भई रहेको छ । यसैगरी दोधारा चाँदनीतिर १ हजार ८ सय ६० मिटर अप र ८ सय ९० मिटर डाउन स्ट्रिममा गाइड बन्ध बनाइएको छ ।
दुई वर्ष अघि गाइड बण्डका लागि स्लो प्रोटेक्सन वाल लगाएर निर्माण गर्ने गरी डिजाइन संशोधन गरेको थियो । त्यस अघि गाइड बण्डका लागि २ सय ५७ किलोका बुल्डर लगाउने गरी डिजाइन गरिएको थियो ।
दुई वर्ष अघि २०७८ कार्तिकमा महाकाली नदीको बाढीले चार सय मिटर पहुँच मार्ग भत्काएपछि पुलको डिजाइन संशोधन गरिएको थियो । निर्माण कम्पनीलाई बुल्डर व्यवस्थापन गर्न नसकिने अवस्था आएको बेला बाढीले पहुँच मार्ग भत्काई दिएको थियो ।

महाकाली पुल आयोजना कार्यालयका अनुसार पूरानो डिजाइनमा गाइड बण्डका लागि एक लाख ४३ हजार घनमिटर बुल्डरको आवश्यकता थियो । निर्माण क्षेत्रको २५ किलोमिटर क्षेत्रबाट ती बुल्डर व्यवस्थापन गर्न समस्या परेको थियो ।

महाकाली पुल आयोजनाका सव इन्जिनियर अवस्थीले निर्माण कम्पनीले सम्झौता अनुसार २५ किलोमिटर क्षेत्रबाट केही बुल्डर व्यवस्थापन गरे पनि विभिन्न अवरोधले सफल हुन नसकेको बताए ।
‘त्यो बेला ढुङ्गा ल्याउन अवरोध भयो, ढुङ्गा हुने ठाउँका वासिन्दाले पनि धेरै नै अनावश्यक शर्त राखे’ उनले भने,‘पहुँच मार्ग भत्काई सकेपछि बलियो पर्खाल बनाउन स्लो प्रोटेक्सन वाल बनाउने गरी डिजाइन बदलेर काम गरियो ।’
निर्माण कम्पनीले पोखरीका लागि गाइड बण्ड निर्माण गरी चार ओटै पोखरीमा दुई वर्ष अघि नै आइल्याण्ड बनाएको हो । त्यसमध्ये भीमदत्त नगरपालिका क्षेत्रका आइल्याण्डलाई २०७८ मा बाढीले भत्काएको थियो । दोधारा चाँदनी क्षेत्रका आइल्याण्ड अहिले यथावत अवस्थामा छन् ।
पुल आयोजनका अनुसार पोखरीमा डुङ्गा सञ्चालन र आइल्याण्ड(कृत्रिम टापु) मा होटल रेष्टुराँ सञ्चालन हुने गरी पुल योजनाको डिजाइन गरिएको छ । भीमदत्तको क्षेत्रमा पोखरीका पानी भरानका लागि अन्तेष्टि घाटबाट ह्युम पाइप जडान गरि सकेको छ ।
तीन वर्षमा निर्माण कार्य सक्ने गरी केमार श्रेष्ठ सिएफसीसीले २०७४ भदौमा पुल निर्माण सुरु गरेको थियो । आगामी चैत सम्पन्न हुने गरी चौथो पटक म्याद थप गरिएको छ ।
महाकाली नदीको दुबैतिर सडक बनाएर पाँय सय मिटर क्षेत्रमा मात्रै पुल निर्माण गरिएको छ । पुलको दुबैतिर तीन÷तीन सय मिटर सडक निर्माण गरिएको छ ।
महाकालीको तीव्र प्रवाह रोक्न सात सयदेखि दुई हजार सात सय किलोग्राम भार भएका सिमेन्ट ब्लक बाँधको स्लोपमा लगाइएका छन् । १२ मिटर उचाईसम्म ती ब्लक लगाइएका छन् ।
महाकाली पुलमा हालसम्म ९२ प्रतिशत भौतिक र ८८ प्रतिशत वित्तिय प्रगति भएको छ ।

