

महेन्द्रनगर । प्रहरीले नियन्त्रणमा लिएर हत्केडी लगाई सकेपछि निर्घात रुपमा कुटपिट गरिएका शिक्षक विरेन्द्र प्रसाद जोशीका परिवारले ८ जना विरुद्ध प्रहरी ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । घाइते शिक्षक जोशकी धर्मपत्नि भागरथी भट्टले जोशीले उनीहरु विरुद्ध किटानी दर्ता गराएका छन् ।
भीमदत्त नगरपालिका १० जिमुवास्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक एवम् लेखापाल जोशीमाथि विद्याथलयको यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि विद्यालय पुगेको भीडले उनीमाथि कुटपिट गरेको थियो । कुटपिटमा गम्भीर घाइते जोशीको धनगढीमा आइसियुमा राखेर उपचार भई रहेको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सीताराम विष्ट नेतृत्वको प्रहरी टोलीले कार्यकक्षबाट नियन्त्रण लिएर हत्केडी लगाएर बाहिर ल्याएपछि उनीमाथि इटा, ढुङ्गा, हेल्मेट प्रहार गरी कुटपिट गरिएको थियो । प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएर पनि कुटपिटबाट बचाउन नसकेको भन्दै चौतर्फी आलोचना हुन थालेको छ । विद्यालयले विज्ञप्ति प्रकाशित गरी प्रहरीको आलोचना गरेको छ ।
विद्यालयमा कक्षा १० मा अध्ययनरथ छात्राले उनीमाथि यौन दुव्र्यवहार आरोप लगाएपछि विद्यालय प्रशासन र ती छात्राका आफन्तले घट्ना सम्बन्धि छलफल गरी मिलापत्र गरिएको थियो । शिक्षक जोशीले ती छात्रासित अन्जानमा कुम जोडिएको भन्दै माफी मागेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले घटनाबारे अनुसन्धान भईरहेको बताए । उनले दुबै पक्षको जाहेरी आएको पुष्टि गर्दै अनुसन्धान थालिएको बताए ।

