
बेलौरीका वडा अध्यक्ष पक्राउ प्रकरण : रुख कटानमा संलग्न अन्यमाथि भने बुझेर कानुनी प्रक्रिया अघि बढाइने


महेन्द्रनगर । डिभिजन वन कार्यालय कञ्चनपुरले बेलौरी छोटी भन्सार सरसफाई क्रममा रुख काटिएको घट्नामा संलग्न अन्यमाथि पनि छानबिन प्रक्रिया अघि बढाउने भएको छ । आइतबार अवैध रुख कटानमा बेलौरी नगरपालिका ६ का वडा अध्यक्ष भोजराज चौधरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि संलग्न अन्यलाई पनि कानुनी दायरामा ल्याउन लागिएको हो ।
डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत भीम प्रसाद कँडेलले रुख कटानमा संलग्न अन्यमाथि बुझेर कानुनी प्रक्रिया अघि बढाउने बताए । ‘त्यो सरसफाईको नेतृत्व वडा अध्यक्षले गरेकोले अहिले वहाँमाथि अनुसन्धान गरि रहेका छौ, अरुको हकमा बुझेर प्रक्रिया अघि बढाउँछौ’ उनले भने ।

साउन १३ गते बेलौरी नगरपालिकाका सबै राजनीतिक दल सहित जनप्रतिनिधि र स्थानीयको सहभागितामा भन्सार परिसरमा सरसफाई गरिएको थियो । त्यस क्रममा परिसर क्षेत्रका केही रुख काटिएपछि वडा अध्यक्ष चौधरीलाई आइतबार पक्राउ गरिएको थियो ।

डिभिजन वन कार्यालयले वडा अध्यक्ष चौधरीलाई सोधपुछका लागि कार्यालयमा बोलाएर पक्राउ गरी हिरासतमा राखेको छ । सरकारी वकिल कार्यालयमा म्याद थप गरी उनीमाथि अनुसन्धान भइ रहेको छ ।
एमालेबाट निर्वाचित वडा अध्यक्षलाई सरसफाई गरिएको दुई महिनापछि पक्राउ गरिएपछि वन अधिकृत कँडेलको आलोचना भएको छ । उनले सत्ता गठबन्धनका नेताको दबावमा चौधरीलाई पक्राउ गरेको आरोप लागेको छ ।
डिभिजनल वन अधिकृत कँडेलले भने दबाव र प्रभावमा नभएर वडा अध्यक्ष विरुद्ध परेका उजुरीका आधारमा उनलाई पक्राउ गरेको बताएका छन् ।
कँडेल गत भदौ २१ गते वन कार्यालय हाजिर भएका थिए ।
