

महेन्द्रनगर । इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका–११ का गणेश नेपालीको दाहसंस्कार गरिएको छ। हमास विद्रोहीको आक्रमणमा परी अक्टोबर ७ तारिखमा मृत्यु भएका गणेशको शुक्रबार भोपुरस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको हो ।

उनको शवयात्रामा जिल्लाका जनप्रतिनिधिलगायत विभिन्न क्षेत्रका मानिसहरु सहभागी थिए । उनी पढाईमा अब्बल थिए । चितवनको प्रेरणा कलेजबाट छात्रवृत्तिमा आईएस्सी पास गरेका उनी टिकापुर बहुमुखी क्याम्पसमा छात्रवृत्तिमै कृषि विज्ञानमा स्नातक पढिरहेका थिए ।

आठौं सेमेस्टरको इर्न्टनसिप गर्न उनी गत भदौमा इजरायल गएका थिए । उनीसँगै टीकापुर बहुमुखी क्याम्पसको कृषि संकायतर्फ स्नातक तह अन्तिम वर्षमा अध्ययनरत ४९ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । इजरायलमाथि हमासले गरेको क्रूर आक्रमणमा परेर गणेशसहित १० जना नेपालीको मृत्यु भएको थियो।

