

महेन्द्रनगर । कञ्चनपुरका ८ राजनीतिक दलले स्मारक क्षेत्रमा राजा महेन्द्रको शालिक पुनस्र्थापित गर्ने कार्य संविधान र व्यवस्था विरुद्ध भएको भन्दै त्यसलाई रोक्न स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र क्रान्त्किारी कम्युनिष्ट पार्टीले बुधबार संयुक्त विज्ञप्ति सार्वजनिक गरी शालिक पुनस्र्थापित कार्य रोक्न आग्रह गरेका हुन् ।

गणतान्त्रिक शासन व्यवस्था विरुद्ध उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर २८ स्मारक क्षेत्रमा महेन्द्रको शालिक पुनस्र्थापित गर्ने तयारी थालेपछि जिल्लाका सबै राजनीतिक दल त्यस विरुद्ध उभिएका छन् ।
२०६२÷०६३ को जन आन्दोलनका क्रममा स्मारक क्षेत्रको पूर्व राजा महेन्द्रको शालिक तोडफोड गरी तत्कालिन महेन्द्रनगर स्मारक क्षेत्रलाई संविधान चोक घोषणा गरिएको थियो । संविधान चोक घोषणापछि त्यस क्षेत्रमा गणतन्त्र स्मारक बनाउने सर्बदलीय निर्णय अनुसार स्मारक बनाउने क्षेत्राधिकार स्थानीय सरकारमा भएकाले भीमदत्त नगरपालिकालाई आग्रह गरिएको छ ।

राजनीतिक दलको विज्ञप्ति आएपछि महेन्द्रनगरमा मुठभेडको सम्भावना देखिएको भन्दै चिन्ता गर्न थालिएको छ । राजनीतिक दलले विज्ञप्ति निकालेपछि शालिक पुनस्र्थापित कार्यको विरोध गर्ने र त्यसले मुठभेड हुने चिन्ता सामाजिक सञ्जालमा व्यक्त गरिएका छन् ।
‘नेपाली जनताको लामो संघर्ष र बलिदान पश्चात प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनमा आन्दोलनरत सबै दलको सर्वदलिय र सर्वपक्षिय वैठकबाट भीमदत्त नगरपालिका ४ मा स्थित स्मारकलाई संविधान चोक नामांकन गरी सो स्मारक माथी गणतान्त्रिक स्मारक निर्माण गर्ने निर्णय अनुसार नेपालको संविधान २०७२ अनुसार सो कार्यक्षेत्राधिकार स्थानिय सरकारको रहेको हुँदा विगतमा भएको निर्णय कार्यान्वयनका लागी भीमदत्त नगरपालिका अनुरोध गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।
राजनीतिक दलले राप्रपाले यस अघि मङ्सिर ८ गते गणतन्त्र विरुद्ध प्रदर्शन गर्दै भीम वाटिकामा सहिद भीमदत्त पन्तको शालिक तोडफोड गरेको थियो । त्यसपछि राप्रपाले स्मारकमा राजा महेन्द्रको शालिक पुनस्र्थापित गर्न मंसिर २८ गते कार्यक्रम बनाएको छ ।
दलहरुले व्यवस्थामाथि प्रश्न उठ्ने गरी भ्रम सिर्जना गर्न खोजिएको भन्दै भत्र्सना गरेका छन् । ‘नेपालको संविधान २०७२ एवं वर्तमान अवस्थाका विरुद्धमा नकारात्मक क्रियाकलापका साथै विभिन्न अराजक क्रियाकलापका साथै बिभिन्न अराजक शैली अपनाई आम जनसमुदायलाई दिग्भ्रमित पार्न गरी व्यवस्थाद्धारा प्राप्त उपलब्धी माथी नै प्रश्न चिन्ह उठने गरी गरिएको भ्रम सिर्जनाको सर्वदलिय वैठक घोर भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘मङ्सिर २८ गतेका लागि राप्रपा कञ्चनपुरले आयोजना गर्ने भनिएको संविधान चोकमा महेन्द्रको शालिक स्थापना गर्ने भन्ने समाचार विभिन्न सञ्चार माध्यममा आए अनुसार सो कार्य संविधानको बर्खिलापमा र व्यवस्थाका विरुद्धमा रहेको हुँदा यो सर्वदलीय बैठक घोर निन्दा प्रकट गर्दै त्यस्ता क्रियाकलापहरू रोक्नका निमित्त स्थानीय सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँछौँ ।’
विज्ञप्तिमा काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटी, एमालेका कार्य वाहक अध्यक्ष लक्ष्मी बुढा, माओवादी केन्द्रका संयोजक खेमराज पाण्डेय, समाजवादीका सचिव हरक सिंह धामी, लोकतान्त्रिक समाजवादी पार्टीका अम्बादत्त तिवारी, राष्ट्रिय जनमोर्चा सदस्य शुसिमान घर्ती, नेपाल कम्युनिष्ट पार्टीका ईञ्चार्ज बिराट सी र क्रान्तिकारी कम्यनिष्ट पार्टी नेपालका संयोजक बिष्णु राम दमाईले हस्ताक्षर गरेका छन् ।


