

महेन्द्रनगर । एचआइभी एड्सको क्षेत्रमा कार्यरत विभिन्न क्षेत्रका सरोकारवालाले संक्रमित व्यक्तिहरुका लागि तीन तहको सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने जोड दिएका छन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको समन्वयमा इपिक नेपाल र सहयात्रा नेपाल कञ्चनपुरले मंगलबार गरेको जिल्ला स्तरीय समन्वय बैठकमा उनीहरुले सहज जीविकोपार्जन र पोषण, शिक्षा,स्वास्थ्य र व्यवसाय सीप आर्जन गर्नका लागि विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन् ।

जिल्ला समन्वय समितिका उप प्रमुख राम कुमारी रानाको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा संक्रमित तथा उच्च जोखिममा भएका समूहरुलाई व्यवहार परिवर्तनका लागि छलफल गरिएको छ । छलफलमा एचआइभी संक्रमितले सहज वातावरणमा औषधि पाउनु पर्ने, उनीहरुका लागि आवश्यक बजेट स्थानीय निकायले छुट्याउनु पर्ने, उनीहरुका लागि सहजताका लागि सिपमूलक कार्यक्रमहरु संचालन गर्नु पर्नु लगायतका छन् ।
सहयात्रा नेपाल कञ्चनपुरका अध्यक्ष राजु लामाको अध्यक्षतामा गरिएको कार्यक्रममा पिपिएचएल सुदूरपश्चिम प्रदेशका राम प्रसाद ओझा, महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.अर्जुन भट्ट , स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकाश जोशी, दोधारा चादँनी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट( मेसु) डा. जयानन्द प्रसाद साह,स्वास्थ्य कार्यालय कञ्चनपुर एचआईभी फोगलपर्सन उद्धब ठगुन्ना, महाकाली प्रादेशिक अस्पताल एआरटी इन्चार्ज नन्दराम भट्ट, एआरटि काउन्सिलर बिमला भट्ट, स्वास्थ्य बीमा बोर्ड कञ्चनपुरका प्रमुख ललित जोशी, महाकाली प्रादेशिक अस्पताल र दोधारा चादँनि अस्पतालका ल्याब इन्चार्ज लगायतका सहभागी भएका छन् ।

