

रमेश प्रसाद भट्ट
महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई प्रदान गरिँदै आएको डायलासिस सेवा लिनेको संख्या बढ्दै गएको छ । सेवा सुरु भएको तीन वर्षको अवधिमा बिरामीको चाप उल्लेख्य रूपमा बढे पनि आवश्यक मेसिन र जनशक्तिको अभावले सेवा व्यवस्थापनमा चुनौतिपूर्ण बनेको छ ।
अस्पतालले २०७९ चैतदेखि डायलासिस सेवा सुरु गरेको हो । सुरुमा एक÷दुई जना बिरामीलाई मात्रै सेवा दिँदै आएको अस्पतालले अहिले दैनिक जसो ६२ जनालाई डायलासिस सेवा प्रदान गर्दै आएको छ । बिरामीको सङ्ख्या बढेपछि अस्पतालले सेवा दिने समयसमेत विस्तार गरेको छ । यसअघि बिहान ७ देखि बेलुका ७ बजेसम्म सेवा दिँदै आएको अस्पतालले अहिले राति ११ बजेसम्म सेवा सञ्चालन गरिरहेको छ ।

अस्पतालको हेमोडायलासिस सेवा शाखा प्रमुख स्टाफ नर्स यशोदा गिरीका अनुसार सुरुका दिनमा विपन्न नागरिकको सिफारिस भएका बिरामीलाई पूर्ण रूपमा निःशुल्क सेवा प्रदान गरिन्छ भने सिफारिस नभएका बिरामीबाट सुरुमा एक पटक मात्रै दुई हजार पाँच सय रुपियाँ शुल्क लिने गरिएको बताए ।
अहिले अस्पतालमा डायलासिसका लागि १० वटा मेसिन रहे पनि नौ वटा मात्रै नियमित प्रयोगमा छन् । एउटा मेसिन आपत्कालीन अवस्थाका लागि छुट्याइएको गिरीले बताए । बिरामीको सङ्ख्या बढ्दै जाँदा उपलब्ध मेसिनले सेवा दिन कठिन हुन थालेको उहाँको भनाइ छ । अस्पतालमा पाँच वटा निकिसो र पाँच वटा निप्रो नामक डायलासिस मेसिन रहेका छन् ।
महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जगदीश जोशीले चिकित्सकको सिफारिसका आधारमा मात्रै डायलासिस सेवा प्रदान गरिँदै आएको बताए ।

अस्पतालमा मिर्गौलासम्बन्धी विशेषज्ञ चिकित्सक (नेफ्रोलोजिस्ट) नहुँदा तालिमप्राप्त स्टाफ नर्समार्फत डायलासिस सेवा सञ्चालन भइरहेको छ । कञ्चनपुरमै मिर्गौलासम्बन्धी विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा बिरामीको उपचार व्यवस्थापनमा थप चुनौती रहेको अस्पतालले जनाएको छ ।
आवश्यक मेसिनका लागि सङ्घीय तथा प्रदेश सरकारसँग माग गरिए पनि हालसम्म थप मेसिन प्राप्त हुन नसकेको डा. जोशीले बताए ।
एक जना बिरामीको डायलासिस गर्न कम्तीमा चारदेखि पाँच घण्टा लाग्ने गर्दछ । बिरामीको स्वास्थ्य अवस्था र चिकित्सकको सिफारिस अनुसार कसैलाई हप्तामा एक पटक त कसैलाई दुईदेखि तीन पटकसम्म डायलासिस गर्नुपर्ने हुन्छ । अस्पतालमा २५ देखि ३० वर्ष उमेर समूहका युवकयुवतीदेखि ४०–५० वर्ष र त्योभन्दा माथिका उमेर समूहका बिरामीले समेत सेवा लिइरहेका छन् ।
हेमोडायलासिस सेवा शाखामा १० जना स्टाफ नर्स र चार जना सहयोगी कार्यरत रहेका छन् । बिरामीको सङ्ख्या बढ्दै गएपछि नियमित सेवासँगै आकस्मिक अवस्थामा प्रयोग गर्नुपर्ने ब्याकअप मेसिनको अभावसमेत खड्किन थालेको अस्पतालले जनाएको छ ।
अस्पतालको तथ्याङ्क अनुसार गत कात्तिक महिनामा मात्रै ४५१ सेसन डायलासिस सेवा प्रदान गरिएको छ । सेवा सुरु भएयता हालसम्म झन्डै चार सय जना बिरामीले अस्पतालबाट डायलासिस सेवा लिएको जनाइएको छ । अस्पतालले हाल आन्तरिक स्रोतबाटै सेवा सञ्चालन गर्दै आएको छ ।
स्थानीयस्तरमै डायलासिस सेवा उपलब्ध भएपछि बिरामीलाई उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता केही हदसम्म कम भएको छ ।
यसअघि धनगढी जानुपर्ने बाध्यता थियो । अस्पतालमै नियमित उपचार गराइरहेका एक बिरामीले आफ्नै ठाउँमा सहज रूपमा डायलासिस सेवा पाउँदा राहत मिलेको बताए ।
