

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ भाँसीस्थित महाकाली मोडर्न पब्लिक स्कुल कक्षा ९ मा अध्ययनरत ऐरिका विष्टको इन्जिनियर बन्ने लक्ष्य छ । शुक्रबार विद्यालयमा गरिएको मोडर्न फेस्टोमा उनले साथीहरुसंग मिलेर परम्परा खानाको पश्चिमेली चुलोको स्टल राखेकी थिइन् । ‘हामीले परम्परागत खानाको संरक्षण र प्रवद्र्धन होस भनेर यो स्टल राखेका हौ’ उनले भनिन्,‘यसबाट हाम्रो परम्परागत खानालाई चिनाउन सहयोग पुग्छ ।’

उनीसँगै स्टलमा सहभागी पूर्णिमा कार्कीले विदेशी खानाले परम्परागत खाना लोप हुन लागेको चिन्ता व्यक्त गरिन् । ‘विदेशी खानाले हाम्रो परम्परात खाना लोप नै हुन थाल्यो’ उनले भनिन् । उनीहरुले सेल, पुरी, ढिक्री, बटुवा, अचार लगायतका खाद्य परिकार स्टलमा राखेका थिए । ‘यी सबै खाना हामीले यतै बनाएका हौ, सकिएपछि फेरि बनाउँछौं’ कार्कीले भनिन् ।

विद्यालयले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान सीप सिकाउन गरेको फेस्टमा कक्षा १ देखि १० सम्मका सबै विद्यार्थी सहभागी भए । खाद्य, कला र विज्ञान प्रदर्शनकी १८ स्टलमा फेस्टमा राखिएका छन् । त्यसमा १२ स्टल खाद्यान्न परिकारका छन् ।
विद्यालय प्राङ्गणमा गरिएको फेस्टमा विद्यार्थीहरुसंगै उनीहरुका अभिभावक पनि आएका छन । फेस्टलमा स्टल बाहेक नाचगान र विभिन्न खेल खेलाइएका छन् ।

फेस्टमा कक्षा ७ का विद्यार्थी सन्देश मालीले कवाड साइकलबाट बनाएको इलेक्ट्रिक साइकलले अधिकाँश दर्शकहरुलाई तानेको छ । पर्यावरण सन्तुलन र लामो दुरी यात्राका लागि कवाड गोदामबाट तीन साइकल किनेर इलेक्ट्रिक साइकल बनाएको मालीले बताए ।

उनले आफ्नो स्टलमा स्मार्ट सिटीको परिकल्पना गरेको चित्र सहित यन्त्रहरु सहित विभिन्न इन्जिनियरिङ्गका समान राखेका छन् । माली यस अघि प्रदर्शनीका प्रतियोगितामा भाग लिई सकेका छन् । उनले शुक्रबार साँझ मिनी यन्त्र किड्स प्रतिस्पर्धामा भाग लिन काठमाडौं जान लागेको बताए ।

कार्यक्रममा अभिभावक जय बहादुर पाण्डेयले कार्यक्रम विद्यार्थीहरुका लागि लाभदायक हुने बताए । ‘यो धेरै राम्रो कार्यक्रम हो, यसबाट जीवन के गर्ने भनेर सिक्छन्, आफ्नो कला देखाउन सक्छन्, प्रतिभा देखाउन सक्छन्’ उनले भने ।
विद्यालयका प्रिन्सिपल द्विजराज भट्टले पढाइसँगै संस्कार र सीप सहितको शिक्षा दिने विद्यालयको लक्ष्य अनुसार फेस्ट आयोजना गरिएको बताए ।

‘हाम्रो विद्यालयले विद्यार्थीलाई पढाई संगै संस्कार सहितको शिक्षा दिने लक्ष्य राखेको छ, किताबी ज्ञान नभएर व्यवहारिक सीप सिकाउन, स्थानीय खाद्य परिकारको प्रवद्र्धन गर्न,कला विज्ञान रुची जगाउन फेस्ट आयोजना गरिएको हो’ उनले भने ।
विद्यालयले यस बाहेक विद्यार्थीहरुलाई प्रत्येक महिना फिल्ड भिजिट गराउँदै आएको प्रिन्सिपल भट्टले बताए । विद्यालयले गत वर्ष पहिलो पटक फेस्ट आयोजना गरेको थियो ।

२०४८ मा स्थापना गरिएको विद्यालयमा ५ सय बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयलाई कक्षा १२ सम्मको पठनपाठन गर्ने तयारी थालिएको प्रिन्सिपल भट्टले बताए ।

