

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन अघि विभिन्न चरण पार गरिने बताएका छन । गृह जिल्ला आउने क्रममा मङ्गलबार धनगढी विमानस्थलमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको समिक्षा गरेर त्यसको सामाधानका लागि राजनीतिक दलहरुबिचको सहमतिका आधारमा संविधान संशोधन हुने बताए ।
उनले भने ‘पहिलो चरणमा संविधानको विषयमा व्यापक समीक्षा हुन्छ, समस्याको पहिचान हुन्छ र पहिचान भएको समस्याको सम्पूर्ण राजनीतिक दलहरुबिच सहमतिका आधारमा संविधान संशोधन हुन्छ ।’

नेपालको संविधान २०७२ निर्माणका क्रममा जसरी नेपाली कांग्रेसले सबै राजनीतिक दलको सहमतिमा संविधान निर्माण गरेको थियो, त्यसरी नै संविधान संशोधनका क्रममा पनि सर्वदलीय सहमतिकै आधारमा संशोधन हुने मन्त्री लेखकको भनाइ छ ।
गृहमन्त्री लेखकले देशमा राजनीतिक अस्थिरता हटाउन एमाले र कांग्रेसको गठबन्धन भएको बताए । उनले दुई ठूला दल कांग्रेस र एमालेबिचको गठबन्धन सरकार बनेलगत्तै अर्थतन्त्रमा सुधार आएको बताए ।
परिपक्व दुई दलीय गठबन्धन सरकार बनेकै कारण सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न सफल भएको उनले बताए । उनले भने ‘तीन वर्षभित्र आयोग गठन गरी काम सम्पन्न गर्ने लक्ष्य सरकारको छ, जसको बिदेशी शक्तिले पनि स्वागत गरिसकेका छन् ।’
मन्त्री लेखक गृहजिल्ला कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी हुन धनगढी पुगेका हुन ।
