
धनगढीमा मृत भेटिएकी डडेल्धुराकी थापा मगरको बलात्कारपछि हत्या गरिएको खुलासा
११ महिनापछि कैलाली प्रहरीले समात्यो दुई जना

महेन्द्रनगर । कैलालीको धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी बिमा थापामगरको जबरजस्ती करणीपछि हत्या भएको खुलेको छ । डडेल्धुराको अमगरगढी नगरपालिका–२ की थापामगरको सामुदायिक वनमा २०८० मङ्सिर ६ गते शव फेला परेको थियो ।
धनगढी उपमहानगरपालिका–४ मा बसोबास गर्दै आएकी ३१ वर्षीया थापामगरको २०८० कात्तिक २९ गते राति लागुऔषध सेवन गर्दै जबरजस्ती करणीपछि हत्या भएको खुलेको हो । कैलाली प्रहरीले घटनाको ११ महिनापछि मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय जनक देउवालाई आइतवार सार्वजनिक गरेको छ ।


जनक देउवाको घरमा २०८१ कात्तिक २९ गते बुधवार राति मुस्कान भन्ने बिमा थापा मगरलाई बोलाएको र धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय संजीव चौधरी र जनक देउवाले लागुऔषध सेवन गर्दै पालैपालो शारीरिक सम्बन्ध राखेको खुलेको छ। प्रहरीको अनुसन्धान अनुसार उनीहरूको कुटपिटबाट थापामगर बेहोस भएकी थिइन । बेहोस थापा मगरलाई देउवा र चौधरीले स्कुटरमा राखेर सरस्वती सामुदायिक वनमा फालेका थिए । उनीहरूले लागुऔषध सेवन गरेर मृत्यु भएको बनाउन लागुलागुऔषधका पाकेटसमेत शव फालेको स्थानमा छोडेको अनुसन्धानबाट खुलेको छ ।
सामुदायिक वनमा शव फेला परेकी मगरको फोन नभेटिएपछि घटना मोडिएको थियो। उनीसँग फोन रहेको साथी मार्फत प्रहरीमा सूचना आएको हो । लामो समयसम्म प्रयोगमा नआएको उक्त फोनमा २ वटा सिम पछि मात्र प्रयोग भएपछि प्रहरीले घटनामा नयाँ अनुसन्धान थालेको थियो ।
प्रहरीले फोनको आइएमइआइ विवरणको अनुसन्धानबाट धनगढी–५ को कृष्णबहादुर चौधरीको नाममा रहेका सिमहरू उक्त फोनमा प्रयोग हुँदै आएको पाइएको थियो । संजीव चौधरीकी श्रीमतीसँग फोन फेला परेको प्रहरीले बताएको छ। संजीव भारत फरार भएका थिए । तर, उनी २०८१ असोज ५ गते त्रिनगर सीमा क्षेत्रबाट पक्राउ परेका छन् । श्रीमतीलाई समेत भारत लैजान भनि आएका चौधरीलाई कैलाली प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको हो। उनी पक्राउ परेपछि मुख्य योजनाकार र घटनामा मुख्य आरोपित देउवाको विषयमा खुलेको थियो ।
