

महेन्द्रनगर । दशैं तिहारलाई लक्षित गरी थालिएको अनुगमनमा अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलका अनुसार महेन्द्रनगर बजारमा गुणस्तर विभाग सहितको अनुगमन टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा भेटिएका केही पसलमा अखाद्य वस्तु भेटिएका हुन् ।

चाडबाडको समयमा कालोबजारी तथा अखाद्य वस्तु बिक्री वितरण हुन सक्ने भन्दै नियमित अनुगमन भइरहेको छ ।
अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

‘पहिलो पटकका लागि सचेत गराइएको छ। अझै नियमित अनुगमन भइरहन्छ, त्यस्तो दोहोरिएको पाइए कारबाहीमा दायरामा ल्याइन्छ,’ उनले भने, ‘कलर प्रयोग भएको अखाद्य वस्तु नष्ट गरिएको छ।’
महेन्द्रनगरमा केही भारतीयले सञ्चालन गरेको खाजा घरहरु दर्ता नगरेको पाइएकाले दर्ता गर्न सचेत गरिएको उनले बताए ।
