

महेन्द्रनगर । प्रहरीकै मिलेमतोमा भएको भैंसेपाटी हनी ट्रयापिङ घटनाको विषयमा छानबिनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । डीएसपी नरहरि अधिकारी नेतृत्वको समितिले बुधबार ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई प्रतिवेदन बुझाएको हो ।
समितिले प्रतिवेदनमा निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई फौजदारी मुद्दा नै चलाउनु पर्ने सिफारिस गरेको छ । प्रहरीकै मिलेमतोमा बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुलिएको छानबिन समितिको औँल्याएको छ । सुनसरीका तत्कालीन एसपी कमल थापाको समेत हनी ट्रयापिङ प्रकरणमा शंकास्पद भूमिका देखिएकाले उनीमाथि कारबाही हुनु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको स्रोतले बतायो । यद्यपि उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेले प्रतिवेदनमा दोषी किटान गरिएकाहरुको नाम बताउन चाहेनन् ।

प्रतिवेदन बुधबार उपत्यका प्रहरी कार्यालयमा बुझाएको र प्रहरी प्रधान कार्यालयमा पठाइने एसएसपी घिमिरेले बताए । प्रहरी प्रधान कार्यालयबाटै जानकारी लिन सकिने उनको भनाइ छ । प्रतिवेदन कार्यान्वयन भएमा एसपी थापामाथि पनि छानबिन हुने स्रोत बताउँछ ।

भैंसेपाटी प्रभागमा एक व्यापारीलाई थुनामा राखी ३० लाख असुल गरी छाडिएको थियो । एक युवतीलाई उजुरी हाल्न लगाएर पूर्व योजनाअनुसार नै पैसा असुलिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख रहेको स्रोतको दाबी छ ।
हनीट्रयापिङ प्रकरणमा इन्स्पेक्टर शाही यस अघि नै निलम्बनमा परिसकेकी छिन् । हनी ट्रयापिङ गिरोहका नाइके ताज इस्लाम सहित उनको समूहका युवतीहरु सुष्मा विक र भिमादेवी थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । इन्स्पेक्टर शाहीले निलम्बन नहुनका लागि शक्ति केन्द्र गुहारेकी थिइन् । भैंसेपाटी हनीट्रयापिङ प्रकरणको पटाक्षेप गर्नका लागि एक अर्का एसपीले पीडित ब्यापारीसँग पटक पटक भेटेको स्रोत बताउँछ ।
हनी ट्रयापिङमा संलग्न ताज इस्लामको गिरोहले विगतमा पनि प्रहरीसँगको सेटिङमा धेरैलाई फसाइसकेको खुलेको छ । यो गिरोहको अर्को निशाना एक पत्रकारलाई फसाउने थियो । जसमा एसपी र इन्स्पेक्टर शाहीले इस्लामलाई अगाडि बढाइसकेको अवस्थामा ती पत्रकार आफैं सजग भएर जोगिन सफल भएका थिए । तर उनीहरु उनलाई फसाउने योजनाबाट पछि हटि नसक्दै भैंसेपाटी प्रकरण सार्वजनिक भयो ।
साभार : नेपालफेस
