

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते हुने वडा अध्यक्षको उप निर्वाचनका लागि शान्ति निकेतन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक बहादुर चन्द नेकपा एमालेबाट उम्मेदवार छन् ।
साढे चार दशक लामो शिक्षण पेशाबाट अनिवार्य अवकाश पाएको चार महिनापछि उनी चुनावी मैदानमा होमिएका छन् । एमाले जिल्ला कमिटीले कार्तिक पहिलो साता उम्मेदवार बनाउने निर्णय गरेपछि दैनिक मतदाताको घरदैलोमा पुगि रहेका छन् ।
चन्द हालसम्म ६ नम्बर वडाका सबैका मतदाताको घरदैलोमा पुगि सकेका छन् । त्यस क्रममा सबै मतदातामा सकारात्मक साथ र सहयोग पाउने आश्वासन पाएको उम्मेदवार चन्दले बताए । ‘एक चरणको घरदैलो सकिएको छ, सबैबाट राम्रो रेस्पोन्स पाएको छु’ चन्दले भने,‘यसले मलाई अझै उत्साहित बनाएको छ ।’
घरदैलोमा मतदाताहरुले आफूलाई पार्टी नहेरी सहयोग गर्ने आश्वासन दिएको उनी बताउँछन् । ‘जुन पार्टी भए पनि हामी तपाईलाई भोट दिन्छौ भनेर आश्वास दिनु भएको छ’ उनले भने,‘अहिलेसम्म माहौल एकदमै राम्रो छ, यो माहौललाई मंसिर १६ गतेसम्म यथावत राख्न लागि रहेको छु ।’
घरदैलोको क्रममा मतदाताले अनुभवी, सिनियर र वडाको विकास गर्ने नेताको रुपमा लिएको आफूले पाएको उनी बताउँछन् । मतदाताले आफूसित धेरै माग नराखेको उनले बताए । ‘एकाध ठाउँबाट विजुलीका पोल सार्नु पर्ने लगायतका माग आएका छन्, अरु त्यस्ता केही छैन’ उनले भने ।


उम्मेदवार चन्दको लामो शिक्षण पेशाका कारण उनी ६ नम्बर वडाका मतदातासित परिचित छन् । उनी एमाले सम्बद्ध नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध भएर शिक्षक राजनीतिमा सक्रिय हुँदै आएका हुन् ।
एमाले पार्टी कार्यालयमा गरिएको उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफूले चुनाव जितेमा पार्टी निर्देशन र जनताको इच्छा आकाँक्षा अनुसार काम गर्ने प्रतिवद्धना बताएका थिए ।
पूर्व प्रधानाध्यापक चन्दको व्यक्तित्व, सामाजिक शैक्षिक क्षेत्रमा पुगाएको योगदान र स्वच्छ छविका कारण एमालेले उनलाई उप निर्वाचनमा उम्मेदवार बनाएको हो । निष्कलंक छविका उनी दृढता पूर्वक उभिन सक्ने व्यक्तित्व रुपमा चिनिन्छन् ।
एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले उम्मेदवार चन्दको स्वच्छ छवि र हक्की स्वभाव भएको उल्लेख गर्दै निर्वाचन परिणाम आफ्नो पक्षमा आउने गरी अघि बढेको बताए ।
उपाध्यक्ष अवस्थी चन्दको चुनावी परिचालन कमिटीका संयोजक छन् । २०७९ को स्थानीय तह निर्वाचनबाट गुमेको विरासत फर्काउन एमालेले चन्दलाई चुनावी मैदानमा ल्याएको हो ।
एमालेले २०४९ देखि लगातार जित्दै आएको ६ नम्बरलाई २०७९ मा पहिलो पटक गुमाएको थियो । २०७४, २०५४ र २०४९ मा एमालेले स्थानीय निर्वाचन जितेको थियो ।
