

महेन्द्रनगर । भीमदत्त नगरपालिका नगर प्रवक्ता पदमराज अवस्थी र विद्यार्थी संगठनका नेताहरुबीच बुधबार नगरपालिका कार्यालयमा चर्काचर्की भएको छ ।
भीमदत्त नगरपालिकाले भीमदत्त नगर विकास समितिको जग्गामा निर्माण गरिएका अवैध संरचना तीन दिन अघि भत्काउन सुरु गरी फेरि स्थगित गरेपछि बुधबार दिउँसो भीमदत्तका उप मेयर निलम लेखक जोशीको कार्यकक्षमा छलफल गरिएको थियो ।
नगर उप प्रमुख जोशी सहित नगर प्रवक्ता अवस्थी र भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट सहित सहभागी छलफलमा अवैध संरचना भत्काउनु पर्ने र मदनचोकमा २२ सटर निर्माणको विषयमा छलफल हुँदा नगर प्रवक्तासित चर्काचर्की भएको हो ।
नेकपा माओवादी केन्द्र सहित प्रतिपक्षी दलका विद्यार्थी संगठन नगर विकास समितिको जग्गामा अवैध निर्माण गरिएका सबै संरचना भत्काउनु पर्ने र मदनचोकमा २२ सटर बनाउन नहुने भन्दै नगरपालिकालाई दबाव दिँदै आएका छन् ।
छलफलमा विद्यार्थी संगठनका नेताहरुले अवैध संरचना भत्काउनु पर्ने र २२ सटर बनाउन नहुनेमा जोड दिए । विद्यार्थी संगठनको दबावमा तीन दिन अघि मालपोत कार्यालय रोडमा केशव आश्रम सहित दुई संरचना डोजर लगाएर भत्काएको थियो । ती त्यसपछि अन्य अवैध संरचना भत्काउने कार्य अघि नबढेपछि उनीहरु नगरपालिका पुगेका हुन् ।
त्यस अघि उनीहरुले सहायक प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालाई भेटेर अवैध संरचना भत्काउने अभियानलाई निरन्तरता दिन दबाव दिए । विद्यार्थी नेताहरुले अवैध संरचना भत्काउन आनाकानी गरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उप मेयर सहितको छलफलमा उनीहरुले भत्काउनु पर्ने अवैध संरचनाको नाम समेत जानकारी गराए । उनीहरुले छलफलमा नगरपालिका जनप्रतिनिधिले आफू निकटका व्यक्तिका अवैध संरचना जोगाउन खोजेको आरोप लगाएपछि नगर प्रवक्तासित चर्काचर्की परेको छलफलमा सहभागीहरुले बताए ।
अखिल क्रान्तिकारी कञ्चनपुरका नेता सुरेश भट्टले सहायक प्रमुख जिल्ला अधिकारी परर्शुराम अर्याल र भीमदत्त नगरका उपप्रमुख निलम लेखकलाई भेटेर सरकारको लगानी भएका भवन नभत्काउने बाहानाबाजी गरेर अतिक्रमणलाई सरक्षण गर्न नहुने बताए ।
विद्यार्थी नेताहरुले सरकारी लगानी खर्च गरिएका अवैध संरचनालाई वैध बनाउने बाटोमा नगरपालिका हिँडेको भन्दै आक्रोश पोखे ।
माओवादी केन्द्रका नेता सिके भट्टले सरकारी लगानी भनेर अवैध सरचना संरक्षण गर्न नहुने बताए । ‘नेपाल सरकारले लगानी वैध सरचनामा लगाउने हो, ‘उनले भने, ‘कुनै सांसद, मन्त्रीको पहलमा आएको बजेटमा बनेको सरचना भनेर पन्छिन हुँदैन ।’
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पशुराम पोखरेलले सार्वजनिक जमिन सरक्षणको दायित्व प्रशासन र पालिकाहरुको भएकाले उनीहरुले आ–आफ्नो क्षेत्रमा रहेका अवैध सरचना खालीदेखि सरकारी जमिन सरक्षण गर्ने निर्णय गरेका छन् ।
भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षदेखि नगर विकास समितिमा निर्माण गरिएका अवैध संरचना भत्काउने अभियान सुरु गरेको थियो । होटल ओपेरा पछाडि निर्माणाधिन संरचना भत्काएर अभियान सुरु गरिएको थियो ।
चालु आर्थिक वर्ष सुरुवातपछि रोकिएको अवैध संरचना भत्काउने तीन दिन अघि फेरि सुरु गरिएको थियो । केशव आश्रम सहित दुई संरचनामा डोजर लगाएर अभियान फेरि सुरु गरिएको हो ।
भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले अतिक्रमण हटाउने कार्य निरन्तर अघि बढ्ने बताए । ‘अवैध संरचना हटाउने कार्य निरन्तर अघि बढ्छ’ उनले भने,‘यसमा कसैलाई पनि विभेद हुँदैन ।’

