

महेन्द्रनगर । माओवादी केन्द्र सहित प्रतिपक्षी दलका युवा र विद्यार्थीले कुनै पनि हालतमा बन्न नदिने भन्दै दबाव दिएपछि भीमदत्त नगरपालिका मदनचोकका २२ सटर पुनः निर्माण गर्ने निर्णयबाट पछि हटेको छ ।
एडीबीको अनुदानको क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत सडक निर्माण कार्य सुरु गरिएपछि मदनचोकका व्यवसायीलाई सोही स्थान व्यवस्थापन गर्ने निर्णय गरी २२ सटर भत्काइएको थिए । ती सटर भत्काइएको ८ महिनापछि शुक्रबार नगरपालिका कार्यालयमा सर्बदलीय बैठक बसेर मापदण्ड नपुग्ने आधार अघि सार्दै सटर बनाउने निर्णय फेरिएको हो ।

यस अघि भीमदत्त नगरपालिकाले मदनचोकका २२ सटरका व्यवसायीलाई सोही स्थानमा व्यवस्थापनका लागि सटर बनाउन डिपीआरका लागि सार्वजनिक सूचना आव्हान गरेको थियो ।

भीमदत्त नगरपालिका मातहतको भीमदत्त नगर विकास समितिले वडा नं. ४ का वडा अध्यक्ष सुशिल कुमार भट्टको नेतृत्वमा गत वर्ष समिति गठन गरी प्रतिवेदन तयार गरेको थियो । समितिले मदनचोकमा २२ सटरका व्यवसायीलाई सोही स्थानमा व्यवस्थापन गर्ने प्रवितेदन बुझाएको थियो ।
मदनचोकमा २२ सटर बनाउने कार्य विरुद्ध सत्तारुढ काँग्रेस र एमाले बाहेक सबै प्रतिपक्षी दलका युवा र विद्यार्थीले आन्दोलन गरेका थिए । उप निर्वाचन अघि नगरपालिकाले २२ सटर भत्काएको स्थानमा फुटपाथ बनाउने कार्य सुरु गरी रोकेपछि युवा विद्यार्थीले प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमलाई कार्यकक्षमा थर्काएका थिए ।
बमलाई उनीहरुले फटुपाथ निर्माण कार्य रोक्न लगाएको भन्दै आक्रोश पोखेका थिए । त्यस क्रममा उनीहरुले कार्यकक्षका कुर्चीमा लात्ती र मुक्का प्रहार गरेका थिए भने प्रमुख प्रशासकीउ अधिकृत बमलाई काँग्रेसको कार्यकर्ता भन्दै थर्काएका थिए ।
त्यसपछि प्रमुख प्रशासकीय अधिकृत बमले भीमदत्तका मेयर पदम बोगटीसित आफूले कामकाज गर्न नसक्ने गुनासो गरेको कर्मचारीहरु बताउँछन् । शुक्रबार सर्बदलीय बैठकमा पनि उनले आफूमाथि कार्यकक्षमा भएको व्यवहार उल्लेख गरेको सहभागीले बताए ।
