

महेन्द्रनगर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन(एन प्याब्सन) नेपाल कञ्चनपुरले पुस २६ देखि २९ गतेसम्म १७ औँ नेशनल प्याब्सन जिल्ला स्तरिय खेलकूद महोत्सव आयोजना गर्न लागेको छ । गृहमन्त्री रमेश लेखकले शुक्रबार खेल महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष श्याम सिह मौनीको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन गरी महोत्सव सम्बन्धि जानकारी दिइएको छ । महोत्सवमा एन प्याब्सन आवद्ध जिल्लाभरका चार दर्जन बढी विद्यालय सहभागी हुने जानकारी दिइएको छ ।
१० लाख खर्च हुने प्रतियोगिता हुने अनुमान गरिएको छ । एन प्याब्सन अध्यक्ष सत्येश बहादुर चन्दले विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभा प्रस्फुटन, खेलकूद विकास, खेलाडी उत्पादन र विद्यालयहरुबीच पारस्पारिक सम्बन्ध बलियो बनाउन प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा महोत्सव संयोजक बलदेब भट्टले प्रतियोगितामा समावेश हुने खेलहरुबारे जानकारी दिए । खुला मञ्चमा उद्घाटन गरी कबर्ड हलमा महोत्सवका सबै खेल सञ्चालन हुने छन् ।
