

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १० का जितेन्द्र सुनारको साढे तीन वर्षको उमेरदेखि देब्रे खुट्टाले चल्न छाड्यो । त्यसपछि ह्विचेयर सहारा बनाएर जीवन अघि बढाएका उनी अहिले दोधारा चाँदनीस्थित ओमकार आधारभूत विद्यालयमा शिक्षण गर्छन् ।
निजी स्रोतका सुनार शिक्षणको तलबबाट घर खर्च चलाउन मुस्किल भएको पीडा सुनाउँछन् ।‘खर्च त पुग्दैन, गुजारा चलाउन मुस्किल छ’ उनले सुनाए,‘गुजारा गरि राखेका छौ, जसोतसो दिन काटि रहेका छौ ।’
१० वर्ष अघि एक हजार तलबमा पढाउन सुरु गरेका हुन् । अहिले उनको तलब ६ हजार पुगेको छ । विद्यालयबाट पाउने त्यहीं तलब उनी घर खर्च चलाउँछन् ।
सुनारका श्रीमति, एक छोरा र एक छोरी छन् । आमा बुवा नभएकाले आफैलाई घर खर्च जुटाउन समस्या परेको उनले सुनाए । उनका आमा बुवाको केही वर्ष अघि निधन भएको थियो । विद्यालयको तलब बाहेक उनी सरकारबाट ख वर्गको अपाङ्गता भत्ता पाउने गर्छन् ।

शिक्षक सुनार विद्यालयमा पढाउन समस्या नभएको बताउँछन् । तलबले घर खर्च चलाउन नपुग्ने चिन्ता भने रात दिन भएको उनको भनाई छ ।
तलब बढाउन दोधारा चाँदनी नगरपालिकासम्म आएको उनले बताए । नगरपालिका कार्यालयबाट तलब बढ्ने आश्वासन पाएका छन् ।
सरकारले अपाङ्गता भएका व्यक्तिलाई चार वर्ग क, ख, ग र घ मा वर्गीकरण गरी भत्ता दिने व्यवस्था गरेको छ । त्यसमा क र ख वर्गमा वर्गीकृत अपाङ्गता भएका व्यक्तिलाई मात्रै भत्ता दिने गरिएको छ ।
शिक्षक सुनार सरकारले अपाङ्गता भएका व्यक्तिलाई भत्ता बाहेक अन्य सुविधा दिनु पर्ने बताए ।
दोधारा चाँदनी नगरपालिकाको कमलशा आधारभूत विद्यालयका शिक्षक रमेश भण्डारी अपाङ्गता भएका व्यक्तिहरु आर्थिक उपार्जनमा कार्यमा सहज सहभागी हुन नसक्ने भएकाले समस्या झेल्दै आएको बताए ।
राहत दरबन्दीका शिक्षक भण्डारी आफंै पनि अपाङ्गता भएका व्यक्ति हुन् । माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय सरकारको भएकाले अपाङ्गता भएका व्यक्तिका विशेष प्राथमिकता दिएर सेवा सुविधा दिनु पर्ने भण्डारी बताउँछन् ।
