
काँग्रेस भीमदत्त नगर सभापति कलौनी मृत्यु प्रकरण : विज्ञ टोली महेन्द्रनगर पुग्दै, भोलि पोष्ट मार्टम गरिने


महेन्द्रनगर । महेन्द्रनगरमा मृत फेला परेका नेपाली कांग्रेस भीमदत्त नगरसभापती अच्युत कलौनीको शव पोष्टमार्टमा लागि महाकाली प्रादेशीक अस्पतालमा राखिएको छ । महाकाली प्रादेशीक अस्पतालमा विज्ञ टोली नहुँदा मृत्युको कारण खुल्न नसकेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी उमेश जोशीले मृतकको शव परिक्षणका लागी भेरी अस्पताल नेपालगञ्जबाट फोरन्सिक मेडिसिनको विज्ञ टोली मगाइएको जानकारी दिए । शनिवार साझँसम्म विज्ञटोली महेन्द्रनगर आइपुग्ने जनाइएको छ ।

डिएसपी जोशीका अनुसार, कलौनीको मृत्युको कारण भने खुल्न सकेको छैन् । आज (शनिवार) विहान भीमदत्त नगरपालिका – १८ वडा कार्यालय भन्दा सय मिटर दक्षिणतर्फ सडक क्षेउमा घोप्टोपरेको अवस्थामा कलौनीको शव फेला परेको थियो ।
उनको शरिरमा देखिने गरि कहिँकतै घाउँ चोटपटक नरहेको डिएसपी जोशीले बताए । घोप्टोपरेर उनको शव फेला परेकाले नाक थेप्चीएको प्रहरीले जनाएको छ । अस्पतालमा विज्ञटोली आएपछि शव पोष्टमार्टम गरिने जनाइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर खटाएर तथा बिभिन्न कोणबाट घटनाको शुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।
