

महेन्द्रनगर । समाजसेवी एबम् अधिकारकर्मी शारदा चन्द राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएकी छन् । चितवनको भरतपुरमा बुधबार सम्पन्न महासंघको राष्ट्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित भएकी हुन् ।
चन्द यस अघि महासंघमा केन्द्रीय सदस्य थिइन् । उनी भीमदत्त नगरपालिका ५ वनखेतस्थित महिला तथा वृद्ध सेवा केन्द्रका सञ्चालक हुन् । दुई दशक अघि मुठीदान गरी सञ्चालन गरिएको चन्दको वृद्धाश्रममा हाल ज्येष्ठ नागरिक, हिंसा पीडित महिला र बालबालिका गरी ६० जना भन्दा बढी छन् ।
महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएपछि चन्दले ज्येष्ठ नागरिकको हक अधिकारका लागि आफूलाई सक्रिय भएर अघि बढ्ने थप जिम्मेवारी पाएको बताइन् ।
४९ वर्षीय चन्द भीमदत्त नगरपालिका १५ की खैरभट्टीकी वासिन्दा हुन् । २०३२ मा डोटीको बान्डुंग्रिसैनमा जन्मिएकी उनी १५ वर्षको उमेरमा अन्तरजातीय प्रेम विवाह गरेपछि घरबाटै हिंसामा परेकी हुन् । २०४७ मा उनको बैतडी पुख्र्यौलीका कञ्चनपुरका ललित चन्द विवाह भएको थियो । तत्कालिन गाउँ विकास समितिका सचिव चन्दको केही वर्ष अघि निधन भएको थियो ।

चन्द यस वर्ष अनलाइन खबरको देशभरका एक सय महिलाको सूचीमा समेटिएकी थिइन् ।
घरेलु हिंसाको मार खेपेकी चन्द २६ वर्षमा नारी उत्थान संस्थामा आवद्ध भएर अधिकारकर्मी रुपमा अघि बढेकी हुन् । त्यस क्रममा उनले २०६३ मा भीमदत्त नगरपालिका–८ की ८५ वर्षीया पार्वती जोशीको हिंसा विरुद्ध आन्दोलन गरी उनलाई न्याय दिलाएकी थिइन् ।
जोशीको घट्नापछि उनी महिला तथा वृद्ध सेवा केन्द्र स्थापना गरी ज्येष्ठ नागरिक र हिंसा पीडित महिला बालबालिकाको अधिकारका लागि सक्रिय रुपमा लागेका हुन् ।
चन्दले मुठी दानबाट महिला तथा वृद्ध सेवा केन्द्र स्थापना गरेको १८ वर्ष बढी भएको छ । उनले हालसम्म पाँच हजार बढीको सेवा गरेको बताएकी छन् ।
वृद्ध सेवा केन्द्रले हालसम्म ५ हजार ३ बढी जनालाई सेवा दिएको जानकारी दिईएको छ । त्यसमध्ये १ सय १९ जना सेवाका क्रममा बितेका छन् । चन्द आफैंले उनीहरुको दाहसंस्कार गरेकी छन् ।
