
विलासिता कर खारेजी सहित तीन बुँदे माग राख्दै कञ्चनपुरका सुनचाँदी व्यवसायी आन्दोलनमा, पसल बन्द गरी प्रशासनलाई बुझाए माग


महेन्द्रनगर । सुनचाँदी व्यवसायीहरु तीन बुँदे माग राखेर पसल बन्द गरी प्रशासन कार्यालय पुगेका छन् । कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अगुवाईमा व्यवसायीहरु बिहीबार विहान पसल बन्द गरी जुलुश सहित प्रशासन कार्यालय पुगेका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुनमा लगाएको २ प्रतिशत विलासित र हिरा मोती लगायतका बहुमूल्य धातुको १३ प्रतिशत मूल्य अधिकृत हटाउनु पर्ने लगायतका माग राखेर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

व्यवसायीहरुले सुनको भन्सार दर ६ प्रतिशत कायम हुनु पर्ने र सुन चाँदी कारोबार सम्बन्धि ऐन बनाउनु पर्ने माग अघि सारेका छन् ।
सुनचाँदी व्यवसायी महासंघ सहित संघसंस्थाको संयुक्त आन्दोलन कार्यक्रम अनुसार कञ्चनपुरका सबै क्षेत्रमा कारोबार बन्द गरिएको कञ्चनपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरत बहादुर सुनारले जानकारी दिए ।

‘यो हाम्रो केन्द्रीय कार्यक्रम हो, त्यस अनुसार महेन्द्रनगर सहित जिल्लाका सबै ठाउँमा पसल बन्द गरी प्रशासन कार्यालय पुगेका छौं’ उनले भने ।
प्रशासन कार्यालयमा उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई आफ्नो माग पत्र बुझाएका छन् ।
होटेल ओपेराबाट सुरु र्याली मदनचोकबाट मुख्य बजार, नेपाल टेलिकम कार्यालय, दशरथ चोक हुँदै प्रशासन कार्यालय पुगेको हो ।
कञ्चनपुर सुनचाँदी व्यवसायी संघ सहित संस्थाको संयुक्त ब्यानर बोकेका व्यवसायीहरु विलासिता कर खारेज गर, भ्याट खारेज लगायतका नारा लगाएका थिए ।
संघका अध्यक्ष सुनार सहित संघका निवर्तमान अध्यक्ष उमेश सुनुवार लगायतका पदाधिकारी, सदस्य र व्यवसायी सहभागी भएका छन् ।
उनीहरुले हातमा कालोपट्टी बाँधेर विरोधमा सहभागी भएका हुन् । शुक्रबार पनि कञ्चनपुरका सबै सुनचाँदी पसल बन्द रहने जानकारी दिइएको छ ।
