

रनि विवश/रमेश वस्नेत
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ८ देउरालीस्ति जनज्योति माध्यमिक विद्यालयले यस वर्ष नगरपालिकामै उत्कृष्ठ भएर तीन लाख नगद अनुदान हात पार्यो ।
दोधारा चाँदनी नगरपालिकाको नगर शिक्षा समितिले यस शैक्षिक सत्रबाट सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विभिन्न मापदण्ड राखेर मूल्याङ्कन गरिएको थियो ।
प्रजातन्त्र पुनवर्हाली वर्ष २०४६ मा स्थापित जनज्योति मावि ३५ वर्षपछि पहिलो पटक उत्कृष्ठ विद्यालय पहिचान बनाउन सफल भएको हो । २०६७ देखि विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरु गरिएको थियो ।
चालु शैक्षिक सत्रको हालसम्म विद्यालयमा ४ सय ८० विद्यार्थी भर्ना भएका छन् । अझै भर्ना हुने क्रम जारी भएकाले विद्यार्थी संख्या बढ्ने भएको छ ।
विद्यालयका प्रधानाध्यापक अमर बहादुर विकले निमावि तहमा नेपाली विषयको शिक्षक दरबन्दी अपुग भएको बताए ।
प्रधानाध्यापक विकका अनुसार स्थायी, राहत, अनुदान र निजी स्रोत गरी १४ जना शिक्षक कार्यरत छन् ।

उनीहरुमध्ये प्रधानाध्यापक विक माध्यमिक तहमा स्थायी दरबन्दी भएका शिक्षक हुन् । त्यस बाहेक माविमा ३ जना संघीय अनुदान र १ जना निजी स्रोतका शिक्षक छन् ।
आधारभूत तहमा ३ स्थायी, २ राहत र ४ जना निजी स्रोतका शिक्षक कार्यरत छन् ।
प्रधानाध्यापक विकले वडा कार्यालय, अनुदान र सहयोग रकमबाट निजी स्रोतका शिक्षकको व्यवस्थापन गरिएको जानकारी दिए ।
२०७७ चैतदेखि विकले विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका हुन् । प्रधानाध्यापक विक विद्यालयले पछिल्लो समय शैक्षिक र भौतिक प्रगतिमा फड्को मारेको बताउँछन् ।
‘म यो विद्यालयमा २०७७ चैतेदेखि प्रधानाध्यापक छु, त्यसपछि धेरै जसो कुरामा चेन्ज भएको छ’ प्रधानाध्यापक विकले भने ।
प्रवेशिका अर्थात एसइई र कक्षा ७ को वार्षिक नतिजा सुधार भएको प्रधानाध्यापक बताउँछन् ।

विद्यार्थीहरुको अनुशासन र खेलकूदमा पनि दोधारा चाँदनी क्षेत्रमा विद्यालयले आफ्नो पहिचान बनाएको छ ।
प्रार्थना सभामा हुने म्यूजिकल पिटी विद्यालयलाई सबैभन्दा बढी पहिचान दिएको छ । दोधारा चाँदनी मात्रै नभएर कञ्चनपुृरभरि म्यूजिकल पिटी हुने विद्यालयका रुपमा जनज्योति परिचित छ ।
विद्यार्थीहरु प्रार्थना सभाका लागि लाइन लागेपछि म्यूजिक बजाएर पिटी सुरु हुने गर्छ ।
कक्षा ८, ९ र १० का विद्यार्थीका लागि तीन वर्षदेखि सञ्चालन हुँदै आएको दिवा छात्राबास यस वर्षदेखि रात्रिकालिन पनि सञ्चालन गर्ने तयारी गरिएको छ ।
कक्षा १० का विद्यार्थीहरुका लागि रात्रिकालिन छात्राबास सञ्चालनमा ल्याउन लागिएको हो । यस अघि ८,९ र १० विद्यार्थीहरुलाई दिवा छात्राबास राखिँदै आएको थियो ।
छात्राबासमा विद्यार्थीहरुलाई हेरचाह पठनपाठनका लागि शिक्षकहरु राखिने गरिएका छन् ।
यस वर्ष विद्यालयबाट ४७ जना एसइई परीक्षामा सहभागी हुने भएका छन् । एसईई नतिजा सुधारका लागि रात्रिकालिन छात्राबास सञ्चालन गर्न लागिएको हो ।


दोधारा चाँदनीमा जनज्योति बाहेक अन्य विद्यालयमा छात्राबास छैन । भौतिक पूर्वाधारमा २ ओटा भवन निर्माण गरिएका छन् ।
विद्यालयका प्रधानाध्यपाक विकले विद्यालय व्यवस्थापन समितिको सक्रियताले विद्यालयले शैक्षिक र भौतिक क्षेत्रमा प्रगति हासिल गरी नगरपालिका क्षेत्रको उत्कृष्ठ विद्यालय बन्न सफल भएको बताए ।
विद्यालयले शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउने प्रयास थालेको छ । त्यसका लागि स्मार्ट बोर्डबाट पठनपाठन गर्ने योजनालाई विद्यालय अघि सारेको छ ।
दोधारा चाँदनी नगरपालिकाले असार मसान्तभित्रै स्मार्ट बोर्ड जडान गर्ने आश्वासन दिएको छ । अहिले विद्यालयमा तीन प्रोजेक्टर छन् ।
विद्यालयमा छात्र भन्दा छात्रा बढी छन् । विद्यार्थी भाग्ने दर शुन्य पुगेको छ । विद्यालयमा कमजोर आर्थिक अवस्था भएका जनजाति र दलित समुदायका सबैभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ओमप्रकाश रोकाया छन् । उनी दोधारा चाँदनी नगरपालिका ८ का वडा अध्यक्ष हुन् ।

रोकाया दोस्रो कार्यकाल वडा अध्यक्ष छन् । उनी २०७४ मा पहिलो पटक वडा अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि २०७९ मा फेरि वडा अध्यक्ष दोहोरिएका हुन् ।
विद्यालयका प्रधानाध्यापक विक व्यवस्थापन समिति अध्यक्ष रोकायाका कारण आफू र विद्यालय सञ्चालनमा ठूलो सहयोग पुगेको बताए ।
‘मलाई त एकदमै सजिलो भएको छ, वहाँले विद्यालयलाई समय दिनु भएको छ, विहान सधै स्कुल आउनु हुन्छ, वहाँको ध्यान पनि विद्यालयलाई नै सुधार गर्ने छ’ उनले भने ।

व्यवस्थापन समितिमा वडा अध्यक्ष रोकाया आएपछि नयाँ भवन निर्माण भएको प्रधानाध्यापक विकले बताए ।
नगरपालिकाले विद्यार्थी संख्या, एसइई नतिजा, खेलकूद, अतिरिक्त कक्षा र छात्राबास लगायतका आधारमा विद्यालयलाई उत्कृष्ठ विद्यालयउ छनौट गरेको प्रधानाध्यापक विकले बताए ।
नगरपालिकाको उत्कुष्ठ छनौट भएर पनि प्रधानाध्यापक विक आफूहरु अपेक्षित रुपमा खुसी हुन नसकेको बताउँछन् ।
‘उत्कृष्ठ भएर तीन लाख अनुदान पनि पाएका छौ, तर पनि त्यति धेरै खुसी छैनौ, सन्तुष्ट छैनौ’ उनले भने,‘अझै धेरै गर्न बाँकी छ, ती सबै कुरा गरि सकेपछि मात्रै हामी खुसी हुन्छौ ।’

प्रविधिमैत्री पठनपाठन, पर्खाल निर्माण लगायतका कार्य गर्ने योजना बनाएको प्रधानाध्यापक विकले बताए ।
अभिभावकहरुलाई विद्यालयप्रति अपेक्षित रुपमा चासो नभएकाले विद्यालयले त्यसका लागि पहल गरि रहेको प्रधानाध्यापक विक बताउँछन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोकायाले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि स्थानीय, प्रदेश र संघ सरकारसित पहल गरिएको बताए ।
विद्यालयका सबै कक्षा कोठामा सिसिटीभी जडान गर्ने योजना अध्यक्ष रोकायाले सुनाए ।
विद्यालयको पर्खाल बनाउन ५० लाख भन्दा बढी खर्च लाग्ने भएकाले प्रदेश सरकारसित पहल गरिएको उनले बताए ।
‘अहिले विद्यालय नगरभित्र उत्कृष्ठ भएको छ, अब यसलाई जिल्लाकै नमूना विद्यालय बनाउने गरी अघि बढ्छौ’ उनले भने ।
