

महेन्द्रनगर । महाकाली सेती यातायात व्यवसायी समिति रुपान्तरित महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रा.लि.को जेठ २८ गते भानु प्यालेशमा दोस्रो वार्षिक साधारण सभा उद्घाटन गरिएको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले साधारण सभा उद्घाटन गरेका थिए । उनी उद्घाटन सत्रमा प्रमुख अतिथि थिए ।
कम्पनीका निवर्तमान प्रशासन उपाध्यक्ष बिष्णु कँडेलले महासंघका केन्द्रीय अध्यक्ष स्वाँर सहित सबै अतिथिलाई फूलमाला लगाएर स्वागत गरे । कँडेललाई साधारण सभा व्यवस्थापन संयोजनको जिम्मेवारी दिइएको थियो ।
भानु प्यालेशको साधारण सभा बन्द सत्रबाट समितिको १७ औं कार्य समिति निर्वाचन मिति तोकिएको थियो । समितिको कार्यालयमा शनिबार विहान ८ बजेदेखि मतदान जारी छ ।
निवर्तमान प्रशासन उपाध्यक्ष कँडेल मतदानमा मतदाताका रुपमा सहभागी छन् । अध्यक्षका उम्मेदवार उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । अध्यक्षमा उनी सहित डम्बराज राज पन्त र नविन भट्ट उम्मेदवार थिए ।
पन्त र भट्ट दुबै चुनावी मैदानमा छन् । समितिलाई सर्वसम्मत बनाउन कँडेलले उम्मेदवारी फिर्ता लिएका हुन् । कँडेलले उम्मेदवारी फिर्ता लिएपछि चुनावबाट अध्यक्ष चुनिन लागेको छ ।
समितिमा पन्त निवर्तमान र भट्ट पूर्व अध्यक्ष हुन् । भट्ट यस अघि पनि पन्तसित चुनाव लडेका थिए ।
उम्मेदवारी फिर्तापछि समितिको नेतृत्व गर्ने कँडेलको आकाँक्षा यस पटक पूरा हुन सकेन । दुई दशकपछि कँडेल कार्य समिति बाहिर पुगेका छन् । उनी २०६२ मा समितिको सदस्य निर्वाचित भएर कार्य समिति प्रवेश गरेका थिए । सदस्यपछि प्रशासन सचिव, महासचिव हुँदै उनी प्रशासन उपाध्यक्ष भएका हुन् ।
सदस्यबाट प्रशासन उपाध्यक्षसम्म निर्वाचित भएर पुगेका उनी समितिमा दुई पटक सचिव भएका थिए ।
समितिमा लामो समयदेखिको सक्रियताले यस पटक कँडेलले समितिको नेतृत्व लिन खोजेका हुन् । पन्त र भट्ट दुबैले समितिको नेतृत्व गरि सकेकाले उनी नेतृत्वको बलियो हकदारका रुपमा हेरिएका थिए ।
‘म सदस्य हुँदै प्रशासन उपाध्यक्षसम्म चुनाव लडेर आए, यस पटक समितिको नेतृत्व गर्ने सोच थियो, त्यहीं भएर उम्मेदवारी दिए, सहमतिमा समितिको कार्य समिति बनाउन छलफल गरियो, त्यसमा सहमतिका लागि मैले उम्मेदवारी फिर्ता लिए’ उनले भने,‘तर अहिले यसो हेर्दा यो छलफल म लगायत केही साथीहरुलाई समितिबाट बाहिर राख्ने खालको खेल हो कि भन्ने शंका जस्तो पनि लागेको छ ।’
शुक्रबार अध्यक्षमा कँडेल सहित वरिष्ठ उपाध्यक्ष पदम सिह भाट, प्रशासन उपाध्यक्ष देब बहादुर खड्का, प्रशासन सचिव अमर सिह चौधरी र होम पन्थी, उपकार सचिवमा आनन्दराज जोशीले उम्मेदवारी फिर्ता लिएका थिए ।

उम्मेदवारी फिर्ता लिने अधिकाँश उम्मेदवार सत्तारुढ एमाले सर्मथक छन् । समितिका केही पूर्व अध्यक्षले योजना बनाएर उनीहरुको उम्मेदवारी फिर्ता गराएको चर्चा छ ।
समितिका निवर्तमान प्रशासन उपाध्यक्ष कँडेलले भने समिति यातायात व्यवसायीको साझा संस्था भएकाले राजनीति गर्न नहुने बताए ।
‘बाहिर हेर्दा एक थरी मान्छेहरुलाई समितिबाट बाहिर ल्याउने कार्य जस्तो देखिएको छ, यो राम्रो होइन, समिति सबैको साझा संस्था हो, त्यस अनुसार अघि बढ्नु पर्ने हो’ उनले भने ।
छलफलमा सहभागीहरुका अनुसार कँडेल लगायतको उम्मेदवारी फिर्ताका लागि मात्रै सर्वसम्मतका लागि छलफल गरिएको जस्तो देखिएको थियो ।
निर्वाचनमा अध्यक्ष सहित विभिन्न पदमा आकाँक्षी १६ जनालाई उम्मेदवारी दर्ताको दिन रोकिएको थियो । उनीहरु सबैलाई समिति सर्वसम्मत चयन गर्नु पर्ने भन्दै उम्मेदवारी दिन रोकिएको हो ।
समितिमा ४ सय १९ मतदाता छन् । दिउँसो ४ बजेसम्म मतदान हुनेछ । समितिका निवर्तमान प्रशासन उपाध्यक्ष कँडेलले समितिमा पदीय जिम्मेवारी नभए पनि व्यवसायीको हकहितका लागि आफू सधैं सक्रिय रुपमा लाग्ने बताए ।
२०७४ पछि समिति कम्पनीमा रुपान्तरण भएपछि निर्वाचन हुन सकेको थिएन । सर्वोच्च अदालतको परमादेशपछि महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको दोस्रो साधारण सभाबाट असार ७ गते निर्वाचन गर्ने निर्णय गरिएको थियो ।
समितिको अध्यक्षका लागि निवर्तमान अध्यक्ष डम्बरराज पन्त र पूर्व अध्यक्ष नविन भट्ट चुनावी प्रतिस्पर्धामा छन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र प्रसाद अवस्थी निर्विरोध भएका छन् । वरिष्ठका अर्का उम्मेदवार पदम सिह भाटले उम्मेदवारी फिर्ता लिएपछि अवस्थी निर्विरोध भएका हुन् ।
प्रशासन उपाध्यक्षमा देब बहादुर खड्काले उम्मेदवारी फिर्ता लिएपछि गणेश बहादुर बम निर्विरोध भएका छन् ।
उपकार उपाध्यक्षमा धिरेन्द्र बहादुर चन्द र रमेश थापा उम्मेदवार छन् । उनीहरुमध्ये चन्द निवर्तमान समितिमा उपकार उपाध्यक्ष र थापा कोषाध्यक्ष थिए ।
समितिको महासचिवमा देबराज जोशी र गणेश बहादुर विष्ट उम्मेदवार छन् । उनीहरुमा जोशी निवर्तमान समितिका सचिव र विष्ट समितिका पूर्व महासचिव हुन् । बलराम पन्त र मधुसुदन जोशी समिति कोषाध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।
प्रशानस सचिवमा हिक्मत कुँबर निर्विरोध भएका छन् । प्रशासन सचिवका उम्मेदवार अमर सिह चौधरी र होम पन्थीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उपकार सचिवमा आनन्दराज जोशीले उम्मेदवारी फिर्ता लिएपछि पुस्करराज जोशी निर्विरोध भएका छन् ।
समितिका ५ सदस्यका लागि ८ उम्मेदवार छन् । उनीहरुमा अम्बादत्त जोशी, दिपक केसी, देबेन्द्र बहादुर भण्डारी, भक्त बहादुर मल्ल, मिन राज पाण्डेय, मोहनदेब जोशी, सरोज कुमार पाठक र सुरेन्द्र सिह भण्डारी सदस्यका उम्मेदवार छन् ।
