

रनि विवश
महेन्द्रनगर । सरकारी जागिर खान धेरैले मरिहत्तले गर्छन् । त्यसमा कति सफल हुन्छन् त कति असफल । असफल हुनेमध्ये केही त उमेरले साथ दिएसम्म प्रयास जारी राख्छन् । अन्ततः कोही त सफल पनि हुन्छन् । यो उनीहरुको मिहिनेतले निर्धारण गर्छ ।
भीमदत्त नगरपालिका २ का प्रेम बल्लभ भट्टले सरकारी जागिरको दौडमा आफूलाई फरक पात्रका रुपमा उभ्याएका छन् । सरकारी जागिर खान मन नभएका भट्टले २०७२ मा प्राथमिक तहका शिक्षकका लागि शिक्षक सेवा आयोग पास गरे ।
शिक्षक सेवा आयोगले भट्टलाई तत्कालिन परासन गाविस( हाल पुनर्वास) नगरपालिका पोष्टिङ्ग ग¥यो । उनी आयोगले पठाएको विद्यालयमा जाँदै नगएर घरै बसे ।
आयोग पास भएपछि घरमै बस्ने निर्णय उनले हतारमा गरेका थिएन् । यो उनको पूर्व निर्धारित निर्णय अनुसारको थियो ।
भट्टले आफ्नो क्षमता जाँचका लागि शिक्षक सेवा आयोगको परीक्षा दिएका थिए । उनी आयोगको परीक्षा पास हुन्छ कि हुँदैन भनेर मिहिनेत गरी परीक्षा दिए । आयोग पास गरी शिक्षक हुने उनको लक्ष्य थिएन ।
भट्टलाई आफ्नै क्षमताको जाँच गर्ने धोको भने पहिलादेखि थियो ।
भीमदत्त नगरपालिका २ र १९ को सीमा क्षेत्रमा एभररेष्ट इभरग्रिन इङ्गलिश स्कुल छ । कक्षा १० सम्म फढाई हुने विद्यालय २०५७ मा भट्टले सञ्चालन गरेका हुन् । विद्यालयमा हाल पाँच सय हाराहारी विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयका प्रिन्सिपल भट्ट हालसम्म पढाउँदै आएका छन् । विद्यालय सञ्चालनपछि उनले संस्थागत विद्यालयका शिक्षकसित शिक्षण अनुमति पत्र नहुने र त्यसले कमजोर हुने आरोप धेरै पटक सुने । त्यसपछि उनले आरोपलाई गलत सावित गर्न आफैं आयोगको परीक्षा दिने मनस्थिति पुगे । त्यस अनुसार आयोग परीक्षा दिएर सफल भए । त्यसपछि उनी आफ्नै विद्यालयका आयोग पास भएका शिक्षक भए ।

‘मलाई म पास हुन्छ कि हुँदैन भन्ने जाँच गर्नका लागि परीक्षा दिए, पास भए, मेरो शिक्षक सेवा पास गरी पढाउने कुनै लक्ष्य थिएन’ उनी भन्छन्,‘त्यसपछि म मेरै विद्यालयमा आयोगका पास भएको शिक्षक भएको छु, अहिलेसम्म निरन्तर पढाउँदै आएको छु ।’
अहिले अमेरिका भएका भीम चन्द लगायतले भट्टलाई आयोगले पठाएको विद्यालयमा गर्न सुझाव समेत दिएको उनी सम्झन्छन् ।
भट्टको बालकाल्यदेखिको सपना शिक्षण पेशा नै थियो । घर परिवारको शैक्षिक माहौलले उनी शिक्षण पेशा उनको जीवनको लक्ष्य बन्न पुगेको थियो ।

दार्चुलाको लेकम पुख्र्यौैली भएका भट्टका बुवा र बाजे दुबै शिक्षक हुन् । उनी पण्डित हरिकृष्ण भट्टका नाति र नारायणदत्त भट्टका कान्छा छोरा हुन् । उनका बुवा २०६२ मा शिक्षण पेशाबाट अनिवार्य अवकाश भएका थिए ।
दार्चुलाको लेकमस्थित गाउँबाट प्राथमिक शिक्षा अध्ययन गरेका भट्टले भीमदत्त नगरपालिका २ महोलियाको सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए । त्यसपछि भारत नैनितालको डिएसबी कलेजमा उनको प्रविणता प्रमाण पत्र तह पढाई भएको थियो ।
भट्टले बैजनाथ इन्जिनियरिङ्ग कलेजबाट सब इन्जिनियर गरेका छन् । उनी बैजनाथको सब इन्जिनियरिङ्ग कलेज स्थापनाको पहिलो ब्याचका विद्यार्थी हुन्् । शिक्षण पेशाका लागि उनले एक वर्षे बिएड पनि गरेका छन् ।
शान्त, मिलनसार, मिजासिला स्वभावका भट्ट विद्यार्थी जीवनदेखि व्यापारमा हात हालेका थिए । कक्षा ९ मा पढ्दा उनले महेन्द्रनगर बजारमा किराना पसल खोलेका थिए । किराना पसलबाट उनलाई व्यवसायिक क्षेत्रमा अघि बढ्ने आँट मिलेको अनुभव उनीसित छ ।
भट्टका बाजे उनलाई शिक्षक बनाउने चाहन्थे । उनी बाजेबाट शिक्षण पेशाको प्रेरणा जगाएको बताउँछन् । सरकारी शिक्षक बुवाको पनि उनलाई जागिर खुवाउने सोच थिएन । उनका बुवा सरकारी जागिर भन्दा आफ्नै पेशा व्यवसाय गरी अघि बढेको हेर्न चाहन्थे ।
बुवाजस्तै भट्ट पनि आफ्नै व्यवसाय गरी अघि बढ्ने सोचका थिए । कक्षा ९ मा पढ्दा उनले किराना पसल खोलेर आफ्नो व्यवासयिक सोच घर परिवारलाई देखाई सकेका थिए ।
त्यसपछि घर परिवारले सल्लाह गरी विद्यालय सञ्चालन गरिएको हो । २०५७ मा भट्टका दाई मोहनदेब भट्टले विद्यालय खोलेर उनलाई सहभागी गराएका हुन् । उनका दाई अहिले डोटीमा माध्यमिक तहका राहत दरबन्दीका शिक्षक हुन् ।
‘बाजे, बुवा, म र दाई गरी तीन पुस्ता शिक्षण पेशामा छौ’ उनी भन्छन्,‘यो विद्यालय सञ्चालन गर्दा खुसी नै छौ ।’
एभरेष्ट इभरग्रिन स्कुल २०५७ मा २७ विद्यार्थीबाट सञ्चालन गरिएको थियो । विद्यालयमा शिक्षक कर्मचारी गरी १९ जना कार्यरत छन् । दुई तले पक्की भवनमा विद्यालय सञ्चालन छ ।
पुरोहितले नै उनको नाम प्रेम दिएको हो । उनी सबैलाई प्रेम गर्न मन पराउँछन् । सबैलाई पे्रम गर्ने उनी आफैं भने प्रेममा फसेका छैनन् । भीमदत्त नगरपालिका ६ की देबकी पन्तसित मागी विवाह भएको थियो । पन्त पनि विद्यालयका शिक्षक हुन् ।
दुई सन्तानका बुवा भट्ट निजी विद्यालयको संगठन प्याब्सनको सुदूरपश्चिम प्रदेश समितिको सह सचिव छन् । उनी प्रदेशमा यस अघि सदस्य थिए ।
राज्यले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण यथावत रहेकोमा उनी चिन्ता व्यक्तग गर्छन् ।
‘अहिले संस्थागत विद्यालय सञ्चालनका धेरै चुनौती छन्, भविष्य छैन भन्ने गरी प्रचार गरिएको छ, सकारात्मक भन्दा बढी नकारात्म कुरा हुने गर्छन्, यसमा राज्यले नै हामीलाई सकारात्मक दृष्टिकोणले हेर्दैन’ उनी भन्छन्,‘हामी राज्यलाई टेक्स तिर्छौ, राज्यको अनुमति लिएर सञ्चालन भएका छौ, जहिले नि राज्यले हामीलाई पेलेको पेल्यै छ, यो दृष्टिकोण कहिले बदलिन सकेको छैन, यस्तो किन गर्छ, यसको कारण चाहिँ केही पनि थाह छैन ।’
