

महेन्द्रनगर । कसरी भुलु म त्यो साथलाई
ज्ञान दिएर सजाई दिनु भयो त्यो पाथलाई
कडा अनुशासन मिठा शब्दहरु
बुझ्न सिकायौ जीवनका प्रत्येक रागहरुलाई
भीमदत्त नगरपालिका १९ बागफाँटास्थित लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक दिपिल सिह भण्डारीको फेरि भेटौला कार्यक्रममा विद्यालयकी छात्राले वाचन गरेको गजल हो यो ।
तीन वर्ष अघि विद्यालयमान निजी स्रोत शिक्षकका रुपमा प्रवेश गरेका भण्डारी सोमबार औपचारिक रुपमा विद्यालयबाट विदावारी भएका छन् । उनी बेदकोट नगरपालिका २ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालय मावि अनुदान कोटामा शिक्षक नियुक्त भएका छन् ।

विद्यालयले सोमबार फेरि भेटौला कार्यक्रम गरी औपचारिक विदाई गरेको हो । विदाई कार्यक्रममा शिक्षक भण्डारीलाई शिक्षक र विद्यार्थीहरुले दोसल्ला ओढाएर अबिर र फूलमाला लगाए ।
विद्यालयको सभा कक्षमा गरिएको कार्यक्रममा विद्यार्थीहरुले शिक्षक भण्डारीको विदाईलाई लिएर विभिन्न गजल वाचन गरे । उनीहरुले भण्डारीलाई टिका र फूलमाला लगाए ।
भण्डारीलाई विदा गर्न विद्यार्थीहरुको आँखाबाट आँशु झरे । औपचारिक कार्यक्रम सुरु हुन अघि फूलमाला बोकेर सभा कक्ष प्रवेश गर्न अघि विद्यार्थीहरुको आँखाबाट आँशु खसे ।

कार्यक्रममा शिक्षक भण्डारीले मन्तव्य राख्ने कार्यक्रममा सभा कक्षमा अधिकाँश विद्यार्थीहरुले आँशु खसाले । केही विद्यार्थीले आँशु खसाल्दै बेन्चमा टाउको राखेका थिए । कार्यक्रम समापनपछि केही विद्यार्थी निकै बेर आँशु झारेर उभिई रहे । उनीहरुलाई विद्यालयका प्रधानाध्याक प्रमानन्द नाथ र शिक्षक भण्डारीले सम्झाए । त्यसपछि उनीहरु शिक्षक भण्डारीसंगै सभा कक्षबाट बाहिर निस्किए ।
विद्यालयका प्रधानाध्यापक नाथको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम गरियो । कार्यक्रममा शिक्षक ज्योति बोहराले स्वागत मन्तव्य राख्दै शिक्षक भण्डारीको विदाईले सबैलाई भावुक बनाएको बताइन् ।

एकदैम लगनशिल, इमान्दार शिक्षक दिलिप शिक्षक भण्डारी यतिका वर्षसम्म सौहार्दपूर्ण रुपमा अध्यापन गर्नु भएको थियो, त्यही भएसर आज वहाँको विदाई नभएर फेरि भेटौलो कार्यक्रम हो, फेरि आउनु हुन्छ भन्ने आश छ’ उनले भनिन्,‘यो भेट्ने र छुट्ने प्रक्रिया जीवनभरि चलि रहन्छ, यस बीचमा केही तिता मिठा कुरा भए ती सबै बिर्सिने आश लिएकी छु ।’

कार्यक्रममा शिक्षक भण्डारीले विद्यार्थीहरुलाई आफूले गरेका नराम्रा कुरा बिर्सन विद्यार्थीहरुलाई आग्रह गरे ।

‘आज म तपाईहरुको साथबाट छुट्टिनु जाँदैछु भन्नु प¥यो है, बढी कुरा भन्दैन है म सरले भनि सक्नु भएको छ, तपाईहरुसित यो दुई तीन वर्षभित्र बिताएका पलहरुलाई सम्झदै मैले तपाईहरुलाई डाठेको हुँला, हकारेको हुला, होइन पढाई सम्बन्धि कति बेला पनिसमेन्ट गरेको हुँला, त्यो कुरालाई बिर्सदै जानु होला’ उनले भने, र अब आउने दिनहरुमा पढाउँदै राम्रो जीवनमा लगेर अघि बढाउनु होला र आफ्नो नाम पनि कमाउनु होला, अनि स्कुलको पनि कमाउनु होला ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले शिक्षक भण्डारीको विद्यालयप्रतिको लगाव र मिहिनेतलाई विद्यालयले सधैं सम्झिने बताए । उनले भण्डारी शिक्षामा सूचना प्रविधिको अधिकत प्रयोग गर्ने शिक्षक भएको भण्डारीले उल्लेख गरे ।

उनले शिक्षक भण्डारीलाई विदाई गर्दा आफूलाई दुःख लागेको बताए । ‘म अर्को कुराले आज दुःखी पनि छु, हाम्रो स्कुलको क्षमताको शिक्षक आज हामीबाट जाँदै छन्, वहाँजस्तो शिक्षक हामी अब पाउन सक्दैनौ’ उनले भने ।
भण्डारीले विद्यालयलाई क्षति भए पनि शिक्षक भण्डारीको आगामी दिनमा सु्खमय होस भन्ने कामना गरे । उनले भविष्यमा उनी स्थायी भएर फेरि विद्यालयमा फर्किने आश गरे ।
विद्यालयका प्रधानाध्यापक नाथले विद्यालय सुधारका लागि शिक्षक कर्मचारीको टीमको महत्वपूर्ण भूमिका हुने बताए ।
लक्ष्मी माविलाई देशकै नमूना मावि बनाउने सपना भएकोले त्यसका लागि शैक्षिक गुणस्तर सुधार अभियान थालिएको र त्यसका लागि आफूले घरबाटै विद्रोह गरी छोरालाई गलयनदीबाट ल्याएर भर्ना गरेको उल्लेख गरे ।

प्रधानाध्यापक नाथले त्यसपछि आफ्नो साथ दिँदै शिक्षक कर्मचारी सबैले घरमा झगडा गरी आफ्ना छोरा छोरी ल्याएर भर्ना गरेको प्रसंग सुनाए ।
विद्यालयबाट विदाई हुन लागेका भण्डारी शिक्षक मात्रै नभएर आफ्ना लागि साथी समान भएको प्रधानाध्यापक नाथको भनाई थियो ।
‘हाँसी हाँसी विद्यालय प्रशासनलाई वहाँले जुन सहयोग पुगाउनु भएको छ, त्यो सधै स्मरणीय रहेनछ’ उनले भने,‘यो फेरि भेटौला कार्यक्रम हो, वहाँलाई हामी फेरि विद्यालयमा भेट्ने आशमै छौ ।’

२०६१ मा निजी स्रोतमा लक्ष्मी माविमा पढाएका नाथ २०७८ देखि प्रधानाध्यापक छन् । उनी प्रधानाध्यापक भएपछि भण्डारी निजी स्रोतमा शिक्षक नियुक्त भएका हुन् ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापकहरु प्रेमप्रकाश जोशी, विरेन्द्र चौधरी लगायतले मन्तव्य राखे । विद्यालयका शिक्षक धर्मानन्द जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।
