

महेन्द्रनगर । डेढ दशकपछि दोधारा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माण कार्य सुरु भएको छ । नेपाल भारत समझदारी अनुसार भारत सरकारले ठेक्का व्यवस्थापन गरी सम्झौता गरेपछि मंगलबारदेखि काम सुरु भएको छ ।
भारतीय निर्माण कम्पनी सिओएमटी कस्ट्रक्सनले तीन अर्ब ३७ करोडमा बन्दरगाह बनाउने ठेक्का लिएको छ । सुख्खा बन्दरगाह निर्माण स्थलको जमिनमा रहेका रुख हटाएपछि भारतीय निर्माण कम्पनीले मंगलबारदेखि काम सुरु गरेको हो।
सुक्खा बन्दरगाह निर्माणका लागि गौरीशंकर सामुदायिक वनमा रहेका झन्डै १ हजार ५ सय रुख काटेर खाली गराइएको थियो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपाली पक्षबाट रुख काटेर जमिन खाली गराएर सुक्खा बन्दरगाह निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनीलाई साइट देखाएको बताए।

‘४२.३६ हेक्टर क्षेत्रफल रहेको सुक्खा बन्दरगाहमा पहिलो चरणमा २५ हेक्टरमा मात्रै संरचना निर्माण हुनेछ,’ उनले भने, ‘जिम्मा पाएको कम्पनीले अहिलेदेखि नै काम सुरु गरेको छ, जरा निकाल्ने कामदेखि व्यवस्थापन हुनेछ ।’
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) र आइइई तयार भइसकेको बताउँदै उनले साइट क्लियरेन्सको कार्य सम्पन्न भएसँगै भारतीय पक्षले काम सुरु गरेको बताए । उक्त कम्पनीले गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, इमिग्रेसन, सुरक्षालगायत भौतिक पूर्वाधारका भवन निर्माण गर्नेछ ।
सुक्खा बन्दरगाह निर्माणका लागि भारतीय र नेपाल सरकारबिच १ जुन २०२३ मा सम्झौता भएको थियो । सिओएमटी कस्ट्रक्सन प्रालिका म्यानेजिङ डाइरेक्टर सुनील शर्माले भारत सरकारको मापदण्डअनुरूप कामकाज अघि बढाउने बताए । उनका अनुसार झन्डै २ अर्ब ४० करोड लागतमा तीन वर्षभित्रै निर्माण कार्य सम्पन्न गरिनेछ ।
सुख्खा बन्दरगाह निर्माण सुरु अघि नै महाकाली नदीको चार लेन पुल र पहुँच मार्ग निर्माण अलपत्र परेको छ । सरकारले म्याद थप नगरेपछि गत चैतदेखि निर्माण कार्य अलपत्र परेको छ ।
सुख्खा बन्दरगाह निर्माणका लागि सरकारले २०७४ मा तीन वर्षमा चार लेन पुल र पहुँच मार्ग निर्माण गर्ने तीन अर्बको ठेक्का सम्झौता गरेको थियो ।
