

महेन्द्रनगर । बेदकोट नगरपालिका १० मा छाउगोठ भत्काइएका छन् । वडा अध्यक्ष रतन सिंह बिष्टका अनुसार शनिबार २० छाउगोठ भत्काइएका छन् । केही छाउगोठ भत्काउन बाँकी रहेको र ती पनि छिट्टै हटाइने वडा अध्यक्ष विष्टले बताए ।
विष्ट माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन् । वडा अध्यक्ष बिष्ट यस अभियानमा आफैं सक्रिय रूपमा सहभागी भई घर–घर पुगेका छन् ।


उनी छाउगोठ भत्काउनुका साथै छाउगोठ प्रयोग नगर्नका लागि जनचेतनासमेत फैलाइरहेका छन्। यस कार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
अभियानमा वडा अध्यक्ष बिष्टलाई स्वीट नेपालका सामाजिक सहजकर्ता पुजा जोशी र लक्ष्मी बमका साथै वडाका स्वयंसेविकाहरूले पनि साथ दिइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले असार ३० गते जिल्लाभर छाउगोठ भत्काउन निर्देशन दिएको थियो । कृष्णपुर नगरपालिका वडा नम्बर १ निगाली टोलमा २८ वर्षीया कमला आउजी दमाईको सर्पको डसाइबाट छाउगोठमै मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले यो अभियान सुरु गर्न निर्देशन दिएको थियो ।

